कोहलपुर २० वैशाख : मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले मुस्लिम समुदायसँग भेटघाट गरेका छन् । मंगलबार कोहलपुरका मुस्लिम समुदायसँग भेट गरी मेयर पदका उम्मेदवार न्पौपानेले ईद उल फित्रको शुभकामना दिएका हुन् ।
कोहलपुरमा सबै धर्म र समुदायका नागरीकहरुबिच आपसी भाईचारको सम्बन्ध स्थापित भएकाले कोहलपुर नमुना शहरका रुपमा विकास हुने क्रममा रहेको न्यौपानेले बताए । पश्चिम नेपालकै ट्रान्जिट प्वईन्टका रुपमा रहेको कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नुपर्ने बताउँदै न्यौपानेले ईद उल फित्रले आपसी सद्भावलाई थप मजबुत बनाउने बताए ।
‘कोहलपुरमा ७७ जिल्लाकै नागरीकहरु छरीएर बस्नुभएको छ” न्यौपानेले भने, ‘यहाँ सबै जातजाती र धर्म, संस्कृती र समुदायका मानिसहरुको बसोबास छ । हामी सामाजिक एकतालाई थप मजबुत बनाउन कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नेछौं ।’
भेटघाटका क्रममा गठबन्धनका साझा उम्मेदवार न्यौपानेसँगै उपमेयरका उम्मेदवार नारायणी वलीले समेत ईदको शुभकामना दिएकी थिईन । त्यसक्रममा मुस्लिम अगुवाहरुले जितको शुभकामना समेत दिएका थिए ।
कोहलपुरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच चुनावी तालमेल भएको छ । दुबै दलको संयुक्त गठबन्धनबाट मेयरमा न्यौपाने र उपमेयरमा वली चुनावी मोर्चामा होमिएका छन् ।