माओबादी केन्द्रबाट मेयरको टिकट नपाएपछि माओबादी त्यागेर राप्रपा प्रवेश गर्दै गरेको तस्विर ।
नेपालगन्ज २० वैशाख : स्थानीय तहको निर्वाचन हुन अब ९ दिन मात्र बाँकी छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाबाट नन्दलाल वैश्य उम्मेदवार बनेकाछन् ।
उनी चुनाव लड्नकै लागि ४ वटा राजनीतिक दल बदल्दै अन्ततः राप्रवामा प्रवेश गरि नेपालगन्ज उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् ।
निर्वाचन मिति नजिकिदैँ जाँदा उनी चुनावी गतिविधिमा ब्यस्त छन् । तर, उनी चुनावी मैदानमा जति ब्यस्त छन् त्यतीकै उनको राजनीतिक यात्रालाई लिएर नेपालगन्जमा चर्चा चुलिदै आएकोछ ।
नेपालगन्जको मेयरको टिकट नपाएको भन्दै नन्दलालले निर्वाचनको मुखमा नेकपा माओबादी केन्द्र त्यागेर राप्रपामा प्रवेश गरे । पदकै लागि नन्दलालले पटक–पटक दल बदल्ने गरेकाछन् । यो वैश्यका लागि नयाँ र नौलो विषय होइन् ।
राप्रपाबाट मेयरमा उठेका बैश्य चुनाव हारेपछि राप्रपामा टिक्न मुस्किल रहने नेपालगन्जका राजनीतिक विश्लेषकहरु बताउँछन् ।
पदकै लागि कहिले काँग्रेस, कहिले एमाले र कहिले माओबादी बनेका नन्दलाल अहिले राप्रपा प्रवेश गरेर चुनावी मैदानमा छन् । नेपालगन्जका उद्योगी एवं नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालि नगर कमिटीका सहसचिव समेत रहेका वैश्य मेयरको टिकटकै लागि राप्रपा प्रवेश गरे ।
सत्तारुढ गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकाको मेयर काँग्रेस र उपमेयर जसपालाई दिने गरी सहमति गरेपछि वैश्यले माओवादी केन्द्र छाडेका हुन् । उनी गठबन्धन तोडेर भए पनि माओवादीले आफूलाई मेयरमा उम्मेदवारी दिनुपर्ने पक्षमा थिए । तर, मेयरका आकांक्षि वैश्यले टिकट नपाउने भएपछि उनी चुनावको मुखमा माओबादी त्यागे ।
वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उद्योग व्यापार संघको अध्यक्ष र महासंघका केन्द्रिय सदस्यसमेत भइसकेका नेपालगन्जका ब्यापारि हुन् । वैश्य समुदायमा उनको राम्रो पकड भएपनि ‘दलबदलु’कोे उपमाबाट परिचित वैश्यको ओझ खस्किदै गएको छ ।
मतदाता भेटघाटमा ब्यस्त रहेका वैश्यलाई पद र अवसर खोज्दै ‘दलबदलु’को संज्ञाले नेपालगन्जबासीले चिन्न थालिएका छन् । त्यसो त वैश्यको कुनै ‘राजनीतिक जात’ छैन । अवसर र पदका लागि उनी कुन बेला कतातिर मोडिन्छन् स्वयम वैश्यलाई समेत थाहा छैन । यतिमात्र होइन आफू प्रवेश गरेको दलमा समेत उनी कटिबद्ध हुदैनन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनअघि उनी काँग्रेस थिए । संघको नेतृत्व गर्न पाउने आफू अनुकुुल वातावरणमा रहेका वैश्यले माओबादी नेता स्वर्गीय दामोदर आचार्यको छत्रछाँयामा बसी उद्योग वाणिज्यको साझा प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएर जिते । तर, त्यो बेलासमेत वैश्य पार्टीको शुभचिन्तक मात्र रहेको माओबादी केन्द्रका सिनियर नेता बताउँछन् ।
सेतोखरीलाई प्राप्त स्रोतको सूचना अनुसार वैश्यले नेकपा एमालेको सदस्यता २०७४/७/१४ गते लिएका थिए । नेपालगन्जको सिटी प्यालेसको होटलमाथि एमाले नेता शंकर पोखरेलबाट देवराजभारको उपस्थितीमा वैश्यले एमालेका सदस्यता लिएका हुन् । कम्युनिष्ट पार्टी एकीकृत भएका बेला माओबादीतर्फ झुकाव राखेका वैश्य ९ महिना अघि मात्र औपाचरिक रुपमा कम्युनिष्ट फुटेपछि माओबादी केन्द्रमा फर्किए ।
यो अवधिसम्म वैश्यले माओबादीको सदस्यता लिएका थिएनन् । करिब ४ महिना अघिमात्र माओबादी केन्द्रको सदस्यता लिएका वैश्य माओबादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिकाको नगर कमिटि सहसचिव थिए ।’ माओबादी केन्द्र बाँकेका एक नेताले भने–‘यो बेलासम्म पनि उनी विचारगत माओबादीप्रति कटिबद्ध थिएनन् । उनको चरित्र ढुलमुले थियो । अन्ततः पदकै लागि माओबादी केन्द्र त्यागे ।’
वैश्यले माओबादी केन्द्र किन त्यागे भनेर सेतोखरीले सोधेको जिज्ञासामा माओबादीबाट नेपालगन्जको मेयरको दावि गरेका ती जिल्ला नेताले भने–‘अरु केही होइन । अवसरबादी वैश्य पदका लागि जे पनि गर्ने ब्यक्ति हुन् । उनको राजनीतिक चरित्र नै छैन । नेपालगन्ज उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि पदकै लोभमा माओबादी त्यागे ।’
माओबादी केन्द्रका ती नेताका अनुसार वैश्यको यही चरित्रका कारण यतिबेला उनको राम्रो पकड भएको भनिएको वैश्य समाजमा ढुलमुले र अवसरबादी नेताको संज्ञा दिइएकोछ ।
‘पद मात्र ठूलो कुरा होइन, राजनीतिप्रतिको निष्ठा पनि आवश्यकछ । कटिबद्ध हुनु पनी महत्वपूर्ण पक्ष हो ।’ सेतोखरीसंग कुरा गर्दै ती नेताले भने–‘नन्दलाल वैश्य विचारहिन, गैरजिम्मेवार, ढुलमुले र अवसरबादी ब्यक्तिको रुपमा हामी र हाम्रो पार्टीले मूल्यांकन गरेकोछ । उनी जहाँ जान्छन् त्यहाँ राजनीतिक तिक्तता ल्याउँछन् । अब राप्रपाको पालो हो संकेत देखिसकेकोछ ।’
उनी राप्रपा प्रवेश गरेको २४ घण्टा नबित्दै जनता समाजवादी पार्टी नेतृ रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश गरिन् । वैश्य समाजभित्र अगुवाका रुपमा परिचित नन्दलाल र रमारानीको ‘दलबदलु’ पद र अवसरकै लागि भएको पनि पुष्टि भएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगन्जको मयेरका आकांक्षी रहेका नन्दलाल टिकट नपाउने पक्का भएपछि राप्रपा प्रवेश गरे । उनी राप्रपा प्रवेश गरेको २४ घण्टा नबित्दै नेपालगन्जको मेयरको टिकट पनि पाए । यसले राप्रपामा लामो समयदेखि त्याग गरेका नेताहरुलाई उपेक्षा गर्दै मेयरको टिकट दिएको भनि राप्रपाभित्र चुलिएको आन्तरिक द्वन्द्व अझैं मथ्थर भएको छैन ।
पार्टीभित्र मेहनत गरेकालाई पन्छाएर मेयरकै लागि उम्मेदवार आयात गरेको भन्दै राप्रपाका नेता कार्यकताहरु निर्वाचनको मुखमै आक्रोसित छन् ।
राप्रपाका नेताहरुले मेयरको टिकट खरीद बिक्री भएको आरोप लगाउँदै स्थानीय निर्वाचनमा मात्रै नभएर प्रदेश तथा संघको निर्वाचनमा नेतृत्वलाई ‘देखाइदिने’ चेतावनीसमेत दिएका छन् । मेयरको टिकटका लागि चुनाव लड्नकै लागि टेण्डर आह्वान सफल भएको भन्दै २५ लाखको बजारमा चर्चा रहेको राप्रपाका नेताहरु बताउँछन् ।