बैजनाथमा काँग्रेसलाई नै रोज्ने मनसायमा मतदाता


बैजनाथमा काँग्रेसलाई नै रोज्ने मनसायमा मतदाता

बैजनाथ (बाँके)२१ वैशाख : नेपाली काँग्रेसका तर्फबाट बैजनाथ गाउँपालिकाका उम्मेदवारहरुले यसपटक काँग्रेसलाई रोजेर विकास र समृद्धिको यात्रालाई नयाँ ढंगबाट सुरु गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

आज घरदैलो गर्ने क्रममा अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले एमालेले जनभावना अनुसार काम गर्न नसकेकाले अब कांग्रेसको विकल्प नरहेको भन्दै आफूहरुलाई भारी मतका साथ विजयी बनाउन आग्रह गरे ।

“हामी जे भन्छौं त्यही गर्छौं, जे सक्दैनौं, त्यो भन्दैनौं,“ शाहीले भने, “हामीलाई विश्वास गरेर मत दिनुस् हामी बैजनाथलाई नमुना पालिका बनाउँछौं ।“ उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले पालिकाको मुहार फेर्न काँग्रेसले जित्नुको विकल्प नरहेको भन्दै आफूहरुलाई मतदान गर्न आग्रह गरिन् ।

त्यसक्रममा स्थानीयहरुले उम्मेदवारहरुलाई आशिर्वाद दिँदै जितको शुभकामना दिएका थिए । भेटघाटका क्रममा मतदाताहरुले यसपटक काँग्रेसलाई रोज्ने मनसाय बनाएको आफूहरुले पाएको शाहीले बताए । काँग्रेस उम्मेदवारहरुले आज वडा नम्बर १, २ र ४ मा घरदैलो गरेका हुन् ।