आचारसंहिता विपरित जाने पत्रकारलाई महासंघले संरक्षण गर्दैन : अध्यक्ष भण्डारी


आचारसंहिता विपरित जाने पत्रकारलाई महासंघले संरक्षण गर्दैन : अध्यक्ष भण्डारी

नेपालगन्ज २१ वैशाख : स्थानीय तह निर्वाचन र पत्रकार आचारसंहिता बाहिर जाने पत्रकार र मिडियालाई महासंघले संरक्षण नगर्ने नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताएकाछन् ।

जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुबीच स्थानीय तह निर्वाचन आचारसंहिता विषयक छलफलमा महासंघ बाँकेका अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् ।

बाँकेका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको बाक्लो उपस्थितीमा गरिएको छलफलमा बोल्दै महासंघ बाँके शाखा अध्यक्ष भण्डारीले भने ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीतरुपमा सम्पन्न गराउन सञ्चारकर्मीको समेत भूमिका महत्वपूर्ण हुन्छ, निर्वाचन र पत्रकार आचारसंहिताको परिधिभित्र रहेर समाचार सम्प्रेषण गर्नु होला ।’ अध्यक्ष भण्डारीले बताए ।

‘पत्रकार हुदैँमा आचारसंहिता विपरित गएर कुनैपनि गतिविधि गर्न कसैलाई पनि छुट छैन ।’ अध्यक्ष भण्डारीले भने ‘स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण छ ।’

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउनु सञ्चारकर्मीको प्रमुख दायित्व भएको भन्दै आचारसंहिता कार्यान्वयन गर्नु पर्ने महासंघ अध्यक्ष भण्डारीले जोड दिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले निर्वाचन स्वच्छ, निष्पक्ष र सफल पार्न सञ्चारकर्मीको अंह भूमिका रहने भन्दै निर्वाचन आचारसंहिता पालना गर्नु सञ्चारकर्मीको प्रमुख दायित्व भएकोमा जोड दिए । उनले सञ्चारकर्मीद्वारा कहीं कतै आचारसंहिता उल्लंघन गरिएमा चोख्याउने र जोगाउने कार्य पत्रकार महासंघले नगर्ने पनि स्पष्ट पारे ।

छलफलमा बोल्ने अधिकांस सञ्चारकर्मीले आचारसंहिता पालना गर्ने दायित्वबाट विमुख नहुने वचनबद्धता प्रकट गरेका हुन् । गलत सूचना प्रवाह नहोस् भन्नका लागि सञ्चारकर्मीलाई भरपर्दो र सहज सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गर्न छलफलमा उपस्थित सञ्चारकर्मीले महासंघसंग आग्रह गरेका थिए ।

यस्तै समाचार सम्प्रेषण र रिर्पोटिंगका बेला पत्रकार र सञ्चारमाथि हुने आक्रमण, विभेदपूर्ण व्यवहार न्यूनिकरण गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि उनीहरुको माग थियो ।

छलफलमा उनीहरुले महासंघले पत्रकार र सञ्चारमाध्यमले आचारसहिंता पालना भए नभएको विषयलाई अनुगमन गर्ने, समाचार रिर्पोटिंगका लागि सहज वातावरण निर्माण गर्ने लगाएतका विषयमा सुझाव दिएका थिए ।

महासंघले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँके शाखा पूर्वअध्यक्षहरु नीरज गौतम, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले निर्वाचनको संवेदनशीलतालाई आत्मसात गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारकर्मी प्रतिबद्ध रहेको बताएका थिए ।