नेपालगन्ज २३ वैशाख : नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् । रसोईमा विहिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्दिन राई लगायतको टोली खाना खान पुगेको थियो ।
सामाजिक कार्यमा समेत सक्रिय रहेका विष्ट रसोईका संस्थापक सदस्य पनि हुन् । उनले रसोईको सेवालाई प्रभावकारी बनाउँदै लैजाने बताए । ‘ब्रह्मलीन श्रीमहन्त हिरामन हरिशंकर गिरी जी महाराजको स्मृतिमा गरिब, मजदुर, विरामीहरुलाई शौलियत दरमा खाना खुवाउनुपर्छ भन्ने उद्देश्यले विजय कुमार गुप्ता लगायतको सुन्दरकाण्ड मित्र मण्डलले रसोइको दुई वर्ष अघि सुरुवात गरेको थियो,’ उनले भने ‘यसले कोरानाकालमा र अहिले भेरी अस्पतालमा आउने विरामीहरुलाई पनि सहयोग भएको छ ।’
कोरोनाकालमा होटल बन्द हुँदा यस आसपासका सेवाग्राहीहरु यहाँबाट लाभान्वित भएका थिए । रसोईले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३० रुपैयाँमा खाना खुवाइरहेको छ । यहाँको सेवा समय बढाउनका लागि जनशक्तिको आवश्यकता पर्छ । सेवा समय बढाउने भन्दा पनि दिइरहेको सेवालाई स्तरीय र प्रभावकारी बनाउने विष्टले बताए ।
रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैँया उपलब्ध गराउँदै आएको छ । गठबन्धनका उम्मेदवार विजयी भएपछि मासिक १ लाख रुपैयाँ उपलब्ध गराइने उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले बताए ।
रसोईले बाहिरी जिल्लाबाट आएका विरामीलाई राहत मिलेको अस्पतालमा कैलाली बौनियाबाट आएका रिदम सञ्ज्यालले बताए । विरामी लिएर अस्पतालमा आएको एक हप्तामा पहिलो पटक यसबारेमा जानकारी पाएको उहाँले बताए । ‘३० रुपैयाँमा पानीको बोतल आउँछ, त्यही मूल्यमा खानै खान पाएपछि धेरै खुशी लाग्यो ।’ तर, धेरै विरामीहरुलाई यो सेवाको बारेमा जानकारी नभएको उनको भनाई छ । यसबारे जानकारी गराउन सूचना बोर्ड राख्ने, यसको प्रचारप्रसार गर्ने लगायतका काम गरिने विष्टले बताए ।
रसोईमा अस्पतालका विरामी, विरामीका आफन्त, नजिकै काम गर्ने, गरिव, मजदुर लगायत दैनिक करिब ४ सयदेखि ५ सयले खाना खाने गरेका छन् । स्थापनादेखि हालसम्म यहाँ २ लाख २५ हजारले सेवा लिएको रसोई सन्चालक पवन कुमार अग्रवालले जानकारी दिए । विजय कुमार गुप्ता, जितेन्द्र कुमार सिँह, प्रशान्त विष्ट, विमल चन्द, ब्रजेश बहादुर सिँह र विनोद कुमार राठीको सहयोगले नै यो सामाजिक कार्यले सफलता पाएको उनले बताए ।
विष्टले भने सामाजिक कामहरु स्वतःस्फूर्तरुपमा गरिने काम भएकाले यसको प्रचारप्रसार जरुरी नभएको बताए ।
यस्तैमा खाना खान रसोईमा पुगेका डाक्टर राजन पाण्डेले प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसंग भेटघाट गरे । भेटघाटका क्रममा घरदैलोसंगै मतदाता शिक्षामा जोड दिन विष्टसंग आग्रह गरे । आफूहरुको यस विषयमा ध्यानाकर्षण भएको बताउँदै विष्टले मतदाता शिक्षा कार्यक्रमलाई जोड दिइएको बताए ।
प्रमुख जिल्ला अधिकारी, शिक्षक, वकिल, अधिकारकर्मी लगायत यहाँ पुग्दा आफूहरु पनि यो सेवाको काममा थप प्रोत्साहित हुने गरेको सन्चालक अग्रवालले बताए ।