नेपालगन्ज २३ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले वडा नम्बर ११ र १२ मा घरदैलो गरेकाछन् । विष्टले बिहीबार अपरान्ह वडा नम्बर ११ र साँझ वडा नम्बर १२ मा घरदैलो गरेका हुन् ।
वडाका उम्मेदवारहरुसहित घरदैलामा गएका विष्टले नेपालगन्जको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे ।
मत माग्दै घरघर पुगेका विष्टले स्थानीयका समस्या सुन्दै आफू निर्वाचित भए समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत जनाए । वडा नम्बर ११ मा वडा अध्यक्षका उम्मेदवार उज्ज्वलसिंह राठौर र वडा नम्बर १२ मा वडा अध्यक्षका उम्मेदवार तरुण कुमार बज्राचार्यसहित वडा सदस्यका उम्मेदवारहरुसंगै घरदैलोमा पुगेका विष्टलाई मतदाताले स्वागत गर्दै एक सक्षम र जुझारु युवाले नेपालगन्ज हाँकेको देख्न चाहेको प्रतिक्रिया दिएका थिए ।
स्थानीयले नेपालगन्ज बनाउने सपना साकार पार्न आफूहरुको साथ रहने बताएका छन् । घरदैलोमा काँग्रेस नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । वडा नम्बर ११ को घरदैलोमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी पनि सहभागी थिए ।
नेपालगन्जमा सत्तारुढ पाँच दलहरुबीच नगर प्रमुख र उपप्रमुखमा चुनावी तालमेल छ । नगरप्रमुखमा काँग्रेसबाट प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) बाट कमरुद्दिन राई उम्मेदवार हुनुुहुन्छ । वडाहरुमा भने छुट्टाछुट्टै प्रतिष्पर्धा छ ।