घरदैलोमा पुगेर मतदातालाई भोट हाल्न सिकाँउदै बैजनाथका अध्यक्ष पदका उम्मेदवार शाही


घरदैलोमा पुगेर मतदातालाई भोट हाल्न सिकाँउदै बैजनाथका अध्यक्ष पदका उम्मेदवार शाही

बाँके (बैजनाथ) २३ वैशाख : बैजनाथ गाँउपालिकाका नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाही आफै मतदातालाई भोट हाल्न सिकाइरहेकाछन् । निर्वाचनमा भोट बदर भएका खबर सुनिने गरेको बताउँदै उनले मतदाता शिक्षाको जरुरी देखिएकाले यो अभियानमा आफै जुटेको बताए ।

उनले आज शुक्रबार बैजनाथ गाँउपालिकाको वडा नम्बर– २ डिगियाका मतदाताहरुसंग भोट माग्ने क्रममा भोट हाल्ने तरिकाबारे पनि जानकारी गराए ।

‘मतदातालाई भोट हाल्ने तरिका सिकाउने काम निर्वाचनको भएतापनि यो जिम्मेवारी राजनैतिक दल र उम्मेदवारको पनि हो । हामीले पनि नमुना मतपत्र लिएर गइरहेको बेला भोट हाल्न सिकाइरहेका हौँ’ शाहीले भने ‘यसरी निर्वाचन आयोगबाट मतदाता शिक्षा लिएकाहरुले फेरी सिक्ने अवसर पाउनुहुन्छ भने छुट्नुभएकाहरुले पनि अवसर पाउनुहुन्छ ।’

विगतका निर्वाचनमा मतदाता शिक्षालाई निकै महत्व दिए पनि मत बदर भइरहेको निर्वाचन आयोगले जनाउँदै आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैलाई मध्यनजर गर्दै बैजनाथ काँग्रेस गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष, सदस्य पदका उम्मेदवार र नेताहरु आफै पनि नमुना मतपत्रको प्रयोग गरी मतदाता शिक्षा दिदै गाँउघरमा भोट मागिरहेका छन् ।

विगतमा निर्वाचनमा स्वास्थ्य स्वयम्सेविका र वालविकासका सहजकर्ताहरूलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो । उनीहरू नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउथे । यसपटक त्यो पनि भएको छैन ।

‘यसपाली एफएम र पत्रपत्रिकाबाट मात्रै मतदाता शिक्षा दिने भन्ने छ, बजेट धेरै छैन,’ जिल्ला निर्वाचन अधिकारी बाँकेका रमा पन्तले भनिन्, ‘केन्द्रको स्वयम्सेविकाले पनि मतदाता शिक्षा दिने भन्ने छ ।’

उनका अनुसार कार्यक्रम र बजेट नआएका कारण विगतजस्तो मतदाता शिक्षा दिन नसकिएको हो । उम्मेदवार स्वयम् र पार्टीको पनि मतदाता शिक्षा दिने दायित्व भएकाले उहाँहरु आफैले पनि मतादाता शिक्षालाई जोड दिनु राम्रो भएको निर्वाचन अधिकारी पन्तको भनाइ छ । विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरूमा बढी मत बदर हुने गरेका थिए ।