नेपालगन्ज २३ वैशाख : नेकपा एमाले बाँकेले पार्टी निर्देशन विपरीत बागी उम्मेदवारी दिने एमाले बाँकेका ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।
पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने जिल्ला कमिटी सदस्य बैजनाथ– १ का विजय चन्द, खजुरा– ३ का विकास काउचा मगर, राप्तीसोनारी– १ का पदम वली, पूर्व जिल्ला कमिटी सदस्य नेपालगन्ज– १० का खुमानन्द काफ्ले, वडा कमिटी अध्यक्ष जानकी– ५ का मातृका बर्मा, पालिका कमिटी सदस्य खजुरा–६ का हिरामान श्रेष्ठलाई कारवाही गरेको एमाले बाँकेले जनाएको छ ।
त्यस्तै नेपालगन्ज– ५ का वडा कमिटी उपाध्यक्ष रमजान अन्सारी, नेपालगन्ज– ६ का वडा कमिटी सदस्य मदनराज शर्मा, नेपालगन्ज– ६ वडा कमिटी सदस्य हितेश भारतीलाई कारवाही गरिएको छ ।
‘एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतीले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको जनाएकाछन् । यसरी कारबाहीमा पर्नेहरुमा जिल्ला कमिटी सदस्यदेखि युवा नेतासमेत रहेका छन्’ विज्ञप्तीमा भनिएको छ ।
‘निर्वाचन जनता र जनताका बैरीहरुबीचको प्रतिस्पर्धा हो यो प्रतिस्पर्धामा जनताले जित्नु अनिवार्य छ, यसको अगुवाई नेकपा एमालेले गरेको छ । जनताले जित्नु पर्ने यो लडाईमा पार्टीका घोषित नीति विपरीत जनविरोधी कामका रुपमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिनु पार्टीको हित विपरीत हो’ विज्ञप्तीमा उल्लेख छ ।