नेपालगन्ज २३ बैशाख : नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्दिन राईले प्रतिवद्धतालाई टेकेर निर्वाचित भएपछि काम गर्नेमा जोड दिएकाछन् ।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखको प्रतिवद्धता सार्वजनिक कार्यक्रमलाई शुक्रबार बेलुकी सम्बोधन गर्दै दुबै उम्मेदवारले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले आफुहरुले जनतामाझ गरेका घोषणा र प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने बताए । संविधान बचाउनका लागि पाँच दलिय गठबन्धन बनेको स्मरण गर्दै उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदमा रुख चिन्ह र उपप्रमुखमा छाता चिन्हमा मतदान गरेर दुबैलाई जिताउन अपील समेत गरे । दुबैले नेपालगन्जको विकासका लागि जनताको सेवक भएर काम गर्नेमा उनले जोड दिए ।
यस्तै नगर उपप्रमुख पदका उम्मेदवार राईले नेपालगन्ज उपमहानगरपालिकामा एमाले र राप्रपालाई ढाल्नका निम्ति नेपाली काँग्रेस, नेकपा (माओबादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पार्टीबीच संयुक्त रुपमा गठबन्धन बनेको स्पष्ट पारे । ‘बैशाख ३० गतेका दिन दुई तिहाई बहुमतका साथ यो गठबन्धन निर्वाचित हुन्छ,’ उनले भने ।
जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष सर्वनकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पुर्वमन्त्री एवम् बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधी सभा सांसद मोहम्मद ईस्तियाक राई, नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डाक्टर सुरेशकुमार कनोडिया, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपप्रमुख उमा थापामगर लगायतले सम्बोधन गरेका थिए ।
प्रतिवद्धता पत्रमा शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, सँस्कृति तथा पर्यटन, भुमी तथा आवास, भौतिक पुर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांगता सम्बन्धी विषयलाई बुँदागत रुपमा समावेश गरिएको छ ।
प्रतिवद्धता पत्रमा भएका विषयलाई जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक हिक्मत बिकले प्रस्तुत गरेका थिए ।