नरैनापुर(बाँके) २३ वैशाख : नरैनापुर गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले कृषिको प्रचुर सम्भावना रहेको नरैनापुरमा कृषि क्षेत्रलाई माथि उठाउने गरी आफूले काम गर्ने बताएका छन् ।
मतदातालाई भेट्ने क्रममा नरैनापुर गाउँपालिकाको वडा नम्बर–१ बनियाँगाउँमा पुगेका मौर्यले नरैनापुरलाई कृषिको प्रचुर सम्भावना भएको भर्जिन ल्याण्डको संज्ञा दिँदै आफू निर्वाचित भएर आएपछि कृषिको विकासका लागि काम गर्ने बताए ।
आधुनिक खेती प्रविधिलाई प्रोत्साहन गर्दै बेलैमा मल तथा विउविजन उपलब्ध गराउने र सिचाईको राम्रो प्रबन्ध मिलाएर कृषिको आधुनिकीकरणमार्फत् नरैनापुरबासी जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको मौर्यले सुनाए । व्यवसायिक खेतीबाट मनग्य आम्दानी गर्ने वातावरण मिलाउने उनले बताए ।
स्थानीयले पनि अब काँग्रेसबाट आफूहरुले धेरै अपेक्षा गरेकाले यसपाली आफूहरु कांग्रेस नै रोज्ने बताएका थिए । उपाध्यक्षकी उम्मेदवार अतिकुन निशा खाँ, वडा अध्यक्षका उम्मेदवार इसाक जोलाह, प्रदेश प्रतिनिधि गुरुमुरत यादव लगायत अन्य नेता कार्यकर्ताका साथ उनी घरदैलोमा पुगेका थिए ।