बाँके (डुडुवा) २४ वैशाख: बाँकेको डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य लिइएको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर–४ अमराहवामा शनिबार आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख पदका उम्मेदवार नरेन्द्रकुमार चौधरी ‘पप्पु’ले कृषि पकेट क्षेत्रका रुपमा गाँउपालिकालाई स्थापीत गराउने प्रतिबद्धता जनाएका हुन् ।
कृषि पकेट क्षेत्र बनाउनका लागि बीउ उत्पादन केन्द्र निर्माण गरिने छ । व्यवसायीक पशुपालनलाई दीर्घकालिन रुपमा अघि बढाउन पशुको नश्ल सुधारका कार्यक्रम अघि बढाईने छ । कृषि उत्पादन बढाउन समयमै रासायनिक मलको सहज उपलब्धताका लागी पहल गरिने उनले बताए ।
तरकारीको पकेट क्षेत्रका रुपमा रहेको हिरमिनीयामा तरकारी स्टोर गर्नका लागी कोल्ड स्टोर निर्माण गर्न लागिएको जानकारी दिंदै यसको निर्माण कार्य पुरा गर्ने चौधरीले बताए । यसका साथै कृषि क्षेत्रमा थप सुधारका कार्यक्रम समेत ल्याइनेछ । गाँउपालिकामा कृषि प्राविधिकहरुको उपलब्धतालाई पनि प्रभावकारी बनाइने छ ।
परम्परागत कृषि प्रणालीलाई बदल्न चुनौती रहेकाले त्यसतर्फ गाँउपालिकाले प्रभावकारी कार्यक्रमका योजना लागु गर्ने छ ।
यस्तै, कृषिसंगै पर्यटनलाई पनि प्राथमिकतामा राखिएको छ । डुडुवा क्षेत्रका पर्यटकीय स्थललाई स्थापित गराउन पहल गर्ने, कतिपय ठाउँमा झुलुङ्गे पुलको निर्माण अन्तिम चरणमा रहेकाले यसलाई सम्पन्न गर्नेे, गएको ५ वर्षका अधुरा विकास निर्माणका कार्यलाई निरन्तरता दिइने उनको भनाई छ ।