नेपालगन्ज २४ वैशाख : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा समृद्धि र सुशासन कायम गर्न राप्रपाको विकल्प नभएको बताएकाछन् । भ्रष्टचारको जालोमा फसेको देशलाई सुशासन र समृद्धि तर्फ डोर्याउन काँग्रेस, एमाले, माओवादीबाट असंभव भएको दाबी गर्दै उनले राप्रपाको विकल्प नभएको बताए ।
नेपालगन्जमा शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेस, एमाले, माओवादीलगायत ठूला पार्टीलाई एउटै प्रश्न गरे – ‘शेर बहादुर देउवा, केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड अव कति पटक प्रधानमन्त्री भएपछि देश समृद्ध बन्छ ?’ यदि जनताले फेरी पनि काँग्रेस, एमाले र मओवादीलाई भोट दिएर जिताएमा उही ब्यक्ति दोहरिएर प्रधानमन्त्री बन्ने र देश झन् दुर्घटनातर्फ जाने निश्चित रहेको उनले दावी गरे ।
अध्यक्ष लिङ्देनले ठूला दलका नेताहरु गलत बाटोमा हिँडिरहेको र गल्ती सच्याउन पनि तयार नभएको बताए । अब ती नेताहरुलाई सुधार्न भोट नदिएर सचेत गराउनु बाहेक अन्य विकल्प नरहेको उनको भनाई थियो ।
‘राप्रपामा भोट हाल्नुस्, उनीहरुको बाकस अब रित्तो बनाउनुस्’, अध्यक्ष लिङ्देनले भने –‘हारेपछि कि त सुध्रिन्छन्, या त मैदान छोडेर बाहिरिन्छन् ।’
अध्यक्ष लिङ्देनले गठबन्धनले चुनाव जिते देश लडाई झगडामा फस्ने पनि चेतावनी दिए ।
स्वार्थका लागि गठबन्धन गरेको आरोप लगाउँदै उनले भने, –‘जितिहालेमा कसको एजेण्डा लागु गर्ने भन्ने विषयमा विवाद हुन्छ, पाँच वर्षसम्म लडाई झगडा मात्र हुन्छ देशमा कुनै विकास हुँदैन ।’
यसैविच राप्रपाका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले गलत मान्छेलाई मत दिएर नेपालगन्जको मेयर नबनाउन आग्रह गरे ।
डाक्टर राणाले भने –‘गलत मान्छेलाई भोट दिएर मेयर बनाउनुभयो भने पाँच वर्षसम्म पछुताउनुबाहेक केही गर्न सकिँदैन, सोँच विचार गरेर मात्र भोट दिनुस्, नत्र नेपालगन्ज उपमहानगरपालिका घुस खोरी र गुण्डाको अखडा बन्न सक्छ ।’
राप्रपाबाट नेपालगन्जका मेयर पदका उम्मेद्वार नन्दलाल बैश्यले आफू शासन गर्न नभई सेवा गर्नका लागि मेयर बन्न चाहेको बताए । आफ्नी आमालाई मञ्चमा बोलाएर खुट्टामा ढोग गर्दै बैश्यले भने –‘म मेरो आमाको कसम खान्छु, यदि म मेयर भएँ भने भ्रष्टाचार गर्दिन ।’
यस्तै राप्रपाबाट उपमेयरका उम्मेदवार बिन्दु चर्तिमगरले नगरमा सेवा गर्ने अवसर दिन आग्रह गरिन् । त्रिभुवनचोकमा चुनावी सभा हुनुअघि राप्रपाले अध्यक्ष लिङ्देनसहित नगरमा मोटरसाइकल र्याली निकालेको थियो ।