नेपालगन्ज २५ वैशाख : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो र भेटघाटलाई तिब्रता दिइरहेका छन् । बाँकेको ८ वटा स्थानीय तहमा उम्मेदवारबीच प्रतिस्पर्धा छ ।
बाँकेका सबै स्थानीय तहमा काँग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन् । बाँकेमा देखिएको चुनावी माहोल, चुनाव जित्न काँग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीसँग गरिएको संवाद :–
१. बाँकेमा चुनावको माहोल कस्तो पाउनु भएको छ ?
-बाँकेमा चुनावी माहोल तात्तेको छ । यतिबेला जनमानस नेपाली काँग्रेको पक्षमा छ । नेता, कार्यकर्तामा उत्साह छ । कही कतै केही साथीहरुमा असन्तुष्टी होला । तर, निर्वाचनको यो संघारमा आईपुग्दा ती असन्तुष्टीलाई बिर्सेर उहाँहरु पनि गठबन्धनका उम्मेदवार जिताउन लागिपर्नु भएको छ ।
२. पार्टी भित्रका असन्तुष्टी कसरी मेटिए ?
-काँग्रेस एउटा ठुलो पार्टी हो । यहाँ धेरै कार्यकर्ताहरुले वर्षौदेखि मेहनत गरिरहनु भएको छ । पार्टीका कार्यकर्ताको ठुलो लगानी छ । यति ठुलो पार्टीको निर्वाचन परिणाम सफल हुन सकेन भने वा विजयी गराउन सकिएन भने ईज्जत र प्रतिष्ठाको कुरा आउँछ । त्यसैले पनि उहाँहरु यतिबेला पार्टी जोगाउन लागि पर्नुभएको छ । टिकटको विषय छोडेर पार्टीलाई जिताउन लागिपर्नु भएको छ । आशा छ, उहाँहरुको देनले पक्कै फल पाउनेछ ।
३. निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि के–के गरिरहनु भएको छ ?
-हामी सबै अहिले कसरी अत्याधिक मत ल्याएर विजयी हुने भनेर केन्द्रित भएका छौँ । प्रत्येक टोल, वडामा दलित, जनजाति लगायत सबै समुदायको घरदैलोमै पुगिरहेका छौ । नेपालगन्जमा गठबन्धनबाट जुझारु उम्मेदवार उठ्नु भएको छ । उहाँहरुको जित निश्चित छ । वडाध्यक्षहरुलाई पनि जिताउनका लागि हामी प्रयास गरिरहेका छौँ । केही वडामा हाम्रो गठबन्धनमा रहेका माओवादी, जसपा कमजोर अवस्था देखिएको छ । त्यहाँ पनि उनीहरुलाई जिताउनका लागि हामी योजना बनाइरहेका छौं । केही वडामा तालमेल गरेर अघि बढ्नका लागि छलफल गरिरहेका छौँ ।
४. नेपालगन्ज उपमहानगरमा गठबन्धनले नै जित्ने आधार के छ ?
-काँग्रेस नेपालको एक प्रजातन्त्र पार्टी हो । नेपालमा प्रजातन्त्र ल्याउनका लागि पनि योगदान दिएको पार्टी हो । काँग्रेसले नै देशमा भएका परिवर्तनहरुको नेतृत्व लिएको छ । अब नेपालगन्जको विकास र परिवर्तनका लागि पनि काँग्रेसले जित्नु आवश्यक छ । किनकी नेपालगन्ज देशमै एउटा फरक पहिचान बोकेको शहरका रुपमा छ ।
यहाँका अस्पताललाई शिक्षण अस्पताल बनाउन, युवाहरुलाई रोजगारी दिन, महिला उद्यमी तयार पार्न, स्वास्थ्य खोप, दिर्घकालिन रोगको उपचार गर्न, निःशुल्क स्वास्थ्य परिक्षण लगायतका घोषणा पत्रमा उल्लेख गरिएको छ । नगर शहरी करण र सरसफाईमा जागरुपता ल्याउन, फोहोर व्यवस्थापन लगायतका काममा प्राथमिकता दिइने घोषणा पत्रमै उल्लेख छ ।
सुख्खा बन्दरगाह देखी लिएर इन्द्रपुर, प्रिपहवा लगायत जोड्ने रिङ रोड बनाउने लगायतका योजना पनि समेटिएका छन् । सुशिल कोइराला प्रधानमन्त्री हुँदा नै नेपालगन्जमा एडिबीको योजना आएको थियो । जसले नेपालगन्जमा विकासको महसुस भएको छ । गठबन्धन निर्वाचित भएका फेरीपनि यस क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायबाट योजना ल्याउनेछौँ ।
५. निर्वाचित हुनेले नेपालगन्जका लागि के गर्न आवश्यक छ ?
-मलाई लाग्छ, यस शहरलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने रहेछ । सुशील कोइराला प्रधानमन्त्री हुँदा यहाँ ठुल्ठुला स्टार लेभलका होटेलहरु खुले । भारतबाट मानसरोवर जानेहरुका लागि नेपालगन्ज गेट वे का रुपमा विकास भयो । भारतबाट मानसरोवर जान आएकाहरुका लागि अब जमुनादेखी हिल्सा सम्मको बाटो निर्माण गर्ने योजना नेपालगन्जले ल्याउन सक्छ । यहाँ यति धेरै स्टार लेभलका होटेलहरु छन् । उनीहरुलाई एक÷दुई दिन नेपालगन्जमा बास बसाउने व्यवस्था गर्न सके यहाँको आर्थिक समृद्धिमा टेवा पुग्छ ।
६. जमुनाहादेखी हिल्सा सम्मको बाटो निर्माण गर्ने योजना कत्तिको सम्भव छ ?
-सम्भव छ । ट्रयाक खुलिसकेको अवस्था छ । त्यसको व्यवस्थापन गर्न सके भैहाल्छ । यो कामका लागि नेपालगन्ज उपमहानगरपालिकाले पहल गर्न सक्छ । यो बाटो बनोस भनेर कर्णाली प्रदेशले पनि चाहेको छ । हामीले आँट देखाए सम्भभव छ ।
७. अब, अन्त्यमा के भन्न चाहानुहुन्छ ?
-नेपाली काँग्रेसले दिएको युवा नेता, प्रौढले माया गरे भने अवश्य जित्छ । यो जित युवाको हो, विकासको हो, नेपालगन्जको हो । युवाहरु यति बेला उत्साहित छन् । युवाहरुले अव नेतृत्व लिनुपर्छ भन्ने पनि हो । अन्त्यमा निर्वाचनका क्रममा जिल्लामा शान्ति सुरक्षा होस्, इमान्दारी र निष्पक्ष रुपमा मतदान होस्, निर्वाचनमा लोभ लालच र प्रलोभनमा पारेर प्रभावित पार्ने काम नहोस् भन्ने जोडदार माग गर्दछु ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’