कोहलपुर २५ वैशाख : कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्यले कोहलपुर क्षेत्रमा शिक्षाको विकासका लागि सधै प्रतिबद्ध रहने बताएका छन् । उनले शिक्षाको गुणस्तरीयताका साथै प्राविधिक शिक्षाका लागि आफूले जोड दिने बताए ।
नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस ईकाई कमिटिको आयोजनामा आईतबार विहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख पदका उम्मेदवार आचार्यले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस कोहलपुरले आफ्नो घोषणा पत्रमा प्राथिमकता दिएर बागेश्वरी बहुमुखी क्याम्पसमा सञ्चालित सबै स्नाकोत्तर तहका कार्यक्रमलाई आधुनिक र व्यवस्थित गरी सञ्चालन गर्ने कुरा उल्लेख गरे । यस्तै क्याम्पसमा दक्ष जनशक्ति र प्राध्यापकसहितको बिज्ञ टोली गठन गरी अनुसन्धानको कार्य पनि अगाडि बढाईने उनले बताए ।
नेपाली काँग्रेसबाट नगर प्रमुख र उपप्रमुख दुबै बागेश्वरी क्याम्पसको पूर्व विद्यार्थी भएकाले क्याम्पसको सर्वाङ्गिण विकासमा अति नै संवेदनशील रहेको धारणा उनले व्यक्त गरे ।
यसका साथै नगरपालिकाभित्र सञ्चालन गरिने विभिन्न योजना, नीति तथा कार्यक्रम निर्माण गर्नका लागि अनुसन्धान गरी कार्यलाई शसक्त रूपमा कार्यान्वयन गर्ने कुरामा उनले जोड दिएका थिए ।
यस्तै सोही अवसरमा नेपाली काँग्रेसबाट कोहलपुर उपप्रमुख पदकी उम्मेदवार संगीता सुवेदीले कोहलपुरको भविष्य युवाको हातमा रहेको भन्दै काँग्रेसलाई जिताउन अपील गरिन् ।
‘मलाई थाहा छ देशका हरेक कालखण्डमा युवाको भूमिका र योगदान महत्वपूर्ण छ, युवाको अग्रसरताले यो परिर्वतन प्राप्त गर्न सकिएको हो । युवा विद्यार्थीले कोहलपुरको प्रमुख र उपप्रमुखमा काँग्रेसलाई जिताएर नयाँ ईतिहास रच्नुहुनेछ’ उपप्रमुखकी उम्मेदवार सुवेदीले अगाडी थपिन्–‘युवाले गरेको निर्णयले कोहलपुरको समग्र मुहार फेर्नेछ ।’