राप्तीसोनारी(बाँके) २५ वैशाख : नेपाली काँग्रेसका तर्फबाट बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तीसोनारी गाउँपालिकाबासीले झेल्दै आएका समस्या सम्बोधनका लागि आफु प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि अपील गरेकाछन् ।
राप्तीसोनारी गाउँपालिका–७ मा आईतबार घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वडा नम्वर–७ राप्तीनदीको कटान, डुवानबाट पीडित रहेको भन्दै यसको दीर्घकालिन समस्या समाधानका लागि स्थायी तटबन्धको व्यवस्था गरिने बताए ।
उनले काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराए सम्बृद्ध गाउँपालिका बनाउने आफ्नो योजनाले सार्थक पाउने उद्घोष गरे । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्नो पाँच वर्षीय कार्यकालमा पूरा नभएका योजनाहरुलाई सार्थक बनाउन काँग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आव्हान गरे ।
उनले भने–‘यो पाँच वर्षिय कार्यकालमा धेरै कामहरु भएका छन्, ति कामलाई पूर्णता दिन अध्यक्ष पदका उम्मेदवार पौडेलसहितको टीमलाई विजयी बनाउनुहोस् ।’
यसअघि आईतबार विहान वडा नम्बर–६ मा पनि घरदैलोसँगै चुनावी कोणसभा गरिएको थियो । त्यसकाक्रममा मतदाताहरुले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका समस्या सम्बोधनको पहल गर्न आग्रह गरेका थिए ।
उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारुसहितका उम्मेदवारहरु सहभागी घरदैलो तथा कोणसभामा काँग्रेसलाई निर्वाचित गराए, जनताको सवाललाई क्रमागतरुपमा पूरा गर्ने प्रतिबद्धता अध्यक्षका उम्मेदवार पौडेलले गरे । घरदैलोका क्रममा मतदातालाई मत हाल्न सिकाउने कामलाई पनि काँग्रेस राप्तीसोनारीले तिब्रता दिएको छ ।