कोहलपुर २५ वैशाख: नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख तथा उपप्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले भुगोलमा नगरको सबैभन्दा ठुलो रहेको वडा नम्बर–१३ का मतदाता समक्ष आफ्नो प्रतिवद्धता ब्यक्त गरेकाछन् ।
भेटघाट र घरदैलोका क्रममा आईतबार दुबै उम्मेदवार समक्ष वडाबासीले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु र मानवबीच हुने द्वन्द्व दीर्घकालिन रुपमा समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको उक्त वडाका बासिन्दाले यस्तो आग्रह गर्दा नगर प्रमुख पदका उम्मेदवार आचार्य र उपप्रमुख पदका उम्मेदवार सुवेदीले आफुहरु निर्वाचित भएपछि संघीय सरकारसँग विशेष पहल गर्ने बताए ।
वडाबासीको गुनासो सुनेपछि कोणसभालाई सम्बोधन गर्दै आचार्य र सुवेदीले निकुञ्ज आसपासका बस्तीहरु सिमरी, भरैया, निबुवा, खड्कवार लगायत क्षेत्रमा पर्यटन मार्ग एवं गन्तब्यको विकास गरी होमस्टे सञ्चालन गर्नमा आवश्यक व्यवस्था गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्वता ब्यक्त गरे ।
मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट सुरक्षित हुनका लागि तारबारको व्यवस्था, पशु तथा कृषि बीमाको सहज कार्यान्वयन गर्ने आचार्यले बताए । ‘वडालाई आवश्यक पूर्वाधार विकास गरेर पर्यापर्यटनसँग जोड्नेछौं, निर्वाचित भएलगत्तै यसले पूर्णता पाउनेछ,’ आचार्यले भने ।
कोहलपुरको समग्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गर्दै उनले भने, ‘खड्कवारदेखि रजगढवा लगायत कोहलपुर नगरपालिका भित्रको रिङरोडको परिकल्पनालाई साकार पारी पर्यटकीय मार्गका रुपमा व्यवस्थापन गरिनेछ ।’
यस्तै उपप्रमुख पदका उम्मेदवार सुवेदीले निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको वडा भएकाले यसक्षेत्रमा होम स्टेको विकास, पार्क, वनभोज स्थलको विकास, सडक स्तरोन्नत तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताइन् ।
मतदाता भेटघाट तथा घरदैलोमा स्वःस्फूर्त ठुलो संख्यामा वडाबासीको सहभागिता रहेको थियो । सो क्रममा नगर प्रमुख र उपप्रमुखका उम्मेदवारसहित वडा नम्ब १३ का वडाध्यक्ष पदका उम्मेदवार डम्मर बहादुर खड्का, खुल्ला सदस्यका उम्मेदवार डम्मर बहादुर कार्की र कल्लु थारु, महिला सदस्य लालमती खड्का र दलित महिला सदस्यका उम्मेदवार रुद्रकली विश्वकर्मा पनि सहभागी थिइन् ।