स्थानीय तह निर्वाचन २०७९

‘कोहलपुरमा काँग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैन’ : फुलाराम थारु


‘कोहलपुरमा काँग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैन’ : फुलाराम थारु

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन आउँदै गर्दा कोहलपुरमा चुनावी सरगर्मी बेस्सरी बढेको छ । नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगर प्रमुखमा पूर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी उम्मेदवार छन् । कोहलपुर नगरपालिकाको समग्र विकासका लागि आचार्य र सुवेदी योग्य र सक्षम भएको काँग्रेसले जनाएको छ ।

कोहलपुर नगरपालिकाको–१५ वटै वडामा काँग्रेसका उम्मेदवारहरु मतदाता शिक्षासहित यतिखेर प्रचार प्रसारमा ब्यक्त छन् । कोहलपुरको चुनावी माहोल, चुनाव जित्न काँग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका काँग्रेस नेता एवम थारु समुदायका अगुवा फुलाराम थारुसँग गरिएको संवाद :–

१. उम्मेदवारसँगै तपाई पनि घरदैलोमा पुगिरहनु भएको छ, कोहलपुरमा कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनु भएको छ ?

-नेपाली काँग्रेस संघर्षशील पार्टी हो । नेकपा एमालेले ३० वर्षसम्म स्थानीय तहमा जिम्मेवारी पाउँदा पनि केही उपलब्धी हासिल गर्न नसकेको सबैलाई थाहा भएकै कुरा हो । यो कुरा कोहलपुरका जनताले प्रत्यक्ष रुपमा महसुस गरि नै सकेका छन् । नेकपा एमालेलाई निकै आशा गरेर कोहलपुरबासीले जिताएकै हुन, तर उसले काम गर्न नसक्ने प्रमाणित गरिसकेकाले काँग्रेसप्रति नै जनलहर रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

२. यहाँ काँग्रेसले गठबन्धन गर्न किन सकेन ?

-कोहलपुरमा नेपाली काँग्रेसको बाहुल्यता रहेको छ । कोहलपुरमा यसभन्दा अगाडीको निर्वाचनमा माओवादीले वडा नम्बर–४ मा मात्र जित हासिल गरेको थियो । यस्तो अवस्थामा हामीले माओबादीलाई अगाडी सार्न चाहेनौं । उपप्रमुख मात्र पद पाउने भन्ने कुरा आएपछि हामीले एक्ला एक्लै प्रतिस्पर्धामा जाने कुरामा सहमत भएका हौं । गठबन्धन बनाउँदा प्रमुख पद कांग्रेसले पाउने अवस्थामा मात्र गर्ने भन्ने कुरा कोहलपुर क्षेत्रमा रहेका कांग्रेसीहरुको भएकाले सबैको मतको कदर गर्दै गठन गर्न सकिएन । अर्को कुरा कोहलपुरमा नेपाली काँग्रेसको बर्चश्व पनि उच्च रुपमा रहेको छ । यो कुरा सबैले मनन् गरेकै कुरा हो ।

३.कोहलपुरको निर्वाचनलाई कसरी हेरिरहनु भएको छ ?

कोहलपुरको निर्वाचनप्रति धेरै जनाको चासो र चिन्ता छ । त्यसमा पनि नेपाली काँग्रेसको जनलहर उलर्दो रहेको छ । बिहानदेखि बेलुकासम्म मतदाताहरुले हौसला थपिरहेका छन् । हाम्रा उम्मेदवारलाई फुलमालाले स्वागत गरेका छन् । यस्तो देख्दा लाग्छ, नेपाली काँग्रेसको जित निश्चित छ । कोहलपुरका मतदाताले सक्षम र जिम्मेवारपुर्ण नेपाली काँग्रेसकै युवा उम्मेदवारलाई जिताउँछन्, भन्ने कुरामा कसैको दुई मत छैन । बाहिरी रुपमा प्रतिस्पर्धा जस्तो देखिएपछि भित्री रुपमा कांग्रेसको माहोल राम्रो छ ।

४. कोहलपुरको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?

-योग्य भएकै कारणले प्रमुख पदका उम्मेदवार पुर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदी अहिले चुनावी मैदानमा हुनुुुहुन्छ । उहाँहरु लगायत कोहलपुर नगरपालिकाका १५ वटै वडाका सबै नेपाली काँग्रेसका उम्मेदवार सक्षम हुनुहुन्छ । प्रमुख र उपप्रमुखको शैक्षिक र व्यवहारिक जीवनशैलीले नै मतदातालाई आकर्षित गरेको छ । किनभने अबको समयमा यस्तै जोशिला र जाँगरिला युवाको खाचो स्थानीय तहमा रहेको छ । जुन कुरा मतदाताले बुझिसकेका छन् ।

५. कोहलपुरमा जनताले काँग्रेसलाई भोट किन दिने ?

कोहलपुरमा ७७ वटै जिल्लाका व्यक्तिहरु बसोबास गर्छन् । ति बसोबास गर्ने स्थानीयले नेपाली काँग्रेसका जोशिला र जाँगर भएका युवा नेतृत्व मन पराएका छन् । युवाले विकासका काममा साझेदारी गर्न सक्छन्, भन्ने विश्वास हामीले पनि दिलाएका छौं र यो कुरा मतदाताहरुले पनि स्विकार गर्नुपर्छ । त्यसकारण यसपट अत्याधिक मतका साथ कोहलपुरका सबै वडा र प्रमुख तथा उपप्रमुख पनि नेपाली कांग्रेसले जित्छ । कोहलपुर क्षेत्रको समग्र विकास गर्नका लागि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन ।

६. नगर प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले जित्नु भयो भने कोहलपुरका लागि मुख्य रुपमा के काम गर्न आवश्यक छ ?

कोहलपुरमा काँग्रेस उम्मेदवारले जितेमा पर्यटन र पुर्वाधार विकासलाई जोड दिनुपर्छ । औद्यागिक क्षेत्रको रुपमा कोहलपुरलाई परिचित गराउनुपर्छ । यसका साथै शिक्षा, स्वास्थ्य, खेलकुद तथा कृषी क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ ।