यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन आउँदै गर्दा कोहलपुरमा चुनावी सरगर्मी बेस्सरी बढेको छ । नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगर प्रमुखमा पूर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी उम्मेदवार छन् । कोहलपुर नगरपालिकाको समग्र विकासका लागि आचार्य र सुवेदी योग्य र सक्षम भएको काँग्रेसले जनाएको छ ।
कोहलपुर नगरपालिकाको–१५ वटै वडामा काँग्रेसका उम्मेदवारहरु मतदाता शिक्षासहित यतिखेर प्रचार प्रसारमा ब्यक्त छन् । कोहलपुरको चुनावी माहोल, चुनाव जित्न काँग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका काँग्रेस नेता एवम थारु समुदायका अगुवा फुलाराम थारुसँग गरिएको संवाद :–
१. उम्मेदवारसँगै तपाई पनि घरदैलोमा पुगिरहनु भएको छ, कोहलपुरमा कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनु भएको छ ?
-नेपाली काँग्रेस संघर्षशील पार्टी हो । नेकपा एमालेले ३० वर्षसम्म स्थानीय तहमा जिम्मेवारी पाउँदा पनि केही उपलब्धी हासिल गर्न नसकेको सबैलाई थाहा भएकै कुरा हो । यो कुरा कोहलपुरका जनताले प्रत्यक्ष रुपमा महसुस गरि नै सकेका छन् । नेकपा एमालेलाई निकै आशा गरेर कोहलपुरबासीले जिताएकै हुन, तर उसले काम गर्न नसक्ने प्रमाणित गरिसकेकाले काँग्रेसप्रति नै जनलहर रहेको छ ।
२. यहाँ काँग्रेसले गठबन्धन गर्न किन सकेन ?
-कोहलपुरमा नेपाली काँग्रेसको बाहुल्यता रहेको छ । कोहलपुरमा यसभन्दा अगाडीको निर्वाचनमा माओवादीले वडा नम्बर–४ मा मात्र जित हासिल गरेको थियो । यस्तो अवस्थामा हामीले माओबादीलाई अगाडी सार्न चाहेनौं । उपप्रमुख मात्र पद पाउने भन्ने कुरा आएपछि हामीले एक्ला एक्लै प्रतिस्पर्धामा जाने कुरामा सहमत भएका हौं । गठबन्धन बनाउँदा प्रमुख पद कांग्रेसले पाउने अवस्थामा मात्र गर्ने भन्ने कुरा कोहलपुर क्षेत्रमा रहेका कांग्रेसीहरुको भएकाले सबैको मतको कदर गर्दै गठन गर्न सकिएन । अर्को कुरा कोहलपुरमा नेपाली काँग्रेसको बर्चश्व पनि उच्च रुपमा रहेको छ । यो कुरा सबैले मनन् गरेकै कुरा हो ।
३.कोहलपुरको निर्वाचनलाई कसरी हेरिरहनु भएको छ ?
कोहलपुरको निर्वाचनप्रति धेरै जनाको चासो र चिन्ता छ । त्यसमा पनि नेपाली काँग्रेसको जनलहर उलर्दो रहेको छ । बिहानदेखि बेलुकासम्म मतदाताहरुले हौसला थपिरहेका छन् । हाम्रा उम्मेदवारलाई फुलमालाले स्वागत गरेका छन् । यस्तो देख्दा लाग्छ, नेपाली काँग्रेसको जित निश्चित छ । कोहलपुरका मतदाताले सक्षम र जिम्मेवारपुर्ण नेपाली काँग्रेसकै युवा उम्मेदवारलाई जिताउँछन्, भन्ने कुरामा कसैको दुई मत छैन । बाहिरी रुपमा प्रतिस्पर्धा जस्तो देखिएपछि भित्री रुपमा कांग्रेसको माहोल राम्रो छ ।
४. कोहलपुरको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?
-योग्य भएकै कारणले प्रमुख पदका उम्मेदवार पुर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदी अहिले चुनावी मैदानमा हुनुुुहुन्छ । उहाँहरु लगायत कोहलपुर नगरपालिकाका १५ वटै वडाका सबै नेपाली काँग्रेसका उम्मेदवार सक्षम हुनुहुन्छ । प्रमुख र उपप्रमुखको शैक्षिक र व्यवहारिक जीवनशैलीले नै मतदातालाई आकर्षित गरेको छ । किनभने अबको समयमा यस्तै जोशिला र जाँगरिला युवाको खाचो स्थानीय तहमा रहेको छ । जुन कुरा मतदाताले बुझिसकेका छन् ।
५. कोहलपुरमा जनताले काँग्रेसलाई भोट किन दिने ?
कोहलपुरमा ७७ वटै जिल्लाका व्यक्तिहरु बसोबास गर्छन् । ति बसोबास गर्ने स्थानीयले नेपाली काँग्रेसका जोशिला र जाँगर भएका युवा नेतृत्व मन पराएका छन् । युवाले विकासका काममा साझेदारी गर्न सक्छन्, भन्ने विश्वास हामीले पनि दिलाएका छौं र यो कुरा मतदाताहरुले पनि स्विकार गर्नुपर्छ । त्यसकारण यसपट अत्याधिक मतका साथ कोहलपुरका सबै वडा र प्रमुख तथा उपप्रमुख पनि नेपाली कांग्रेसले जित्छ । कोहलपुर क्षेत्रको समग्र विकास गर्नका लागि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन ।
६. नगर प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले जित्नु भयो भने कोहलपुरका लागि मुख्य रुपमा के काम गर्न आवश्यक छ ?
कोहलपुरमा काँग्रेस उम्मेदवारले जितेमा पर्यटन र पुर्वाधार विकासलाई जोड दिनुपर्छ । औद्यागिक क्षेत्रको रुपमा कोहलपुरलाई परिचित गराउनुपर्छ । यसका साथै शिक्षा, स्वास्थ्य, खेलकुद तथा कृषी क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’