कोहलपुर–८ का स्थानीयले भने– ‘कोहलपुरलाई समृद्ध बनाउने आचार्य र सुवेदीको महाअभियानमा हाम्रो साथ छ’


कोहलपुर–८ का स्थानीयले भने– ‘कोहलपुरलाई समृद्ध बनाउने आचार्य र सुवेदीको महाअभियानमा हाम्रो साथ छ’

कोहलपुर २६ वैशाख : नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदी सहितका उम्मेदवारहरुले सोमबार कोहलपुर नगरपालिका वडा नम्बर–८ मा चुनावी घरदैलो गरेका छन् ।

वडा नम्बर–८ का वडा अध्यक्ष पदका उम्मेदवार लालबहादुर रानासहित सदस्य पदका उम्मेदवार समेत सहभागी घरदैलो, र्‍याली तथा चुनावी कोणसभालाई सम्वोधन गर्दै आचार्यले समृद्ध कोहलपुर बनाउने महाअभियानमा सहयोग गर्न आव्हान गरे । वडा नम्बर–८ आचार्यको आफ्नै वडा हो । त्यसैले पनि यो वडाबासी मतदाताहरु आचार्यप्रति उत्साहित छन् ।

‘आफ्नै वडाको युवा नगर प्रमुख पदको उम्मेदवार भएर चुनाव लड्न पाउनु हाम्रो लागि पनि गर्वको कुरा हो,’ स्थानीयबासीहरु भन्छन्–‘पूर्णलाई जिताउन वडाबासी एकजुट छौं ।’ नगरप्रमुख पदका उम्मेदवार आचार्यले आफू समृद्ध नगरपालिका बनाउने अभियानमा जुटेकाले यो अभियानमा सहयोग र समन्वकारी भूमिका निर्वाह गरिदिन आम मतदाताहरुलाई आग्रह गरे ।

‘यो मेरो आफ्नै वडा पनि हो, यसैप नि तपाईंहरु सबैको साथ र सहयोग मलाई आवश्यक छ, आचार्यले भने–‘यतिले मात्रै पुग्दैन, कोहलपुरलाई समृद्ध र विकसित सहर बनाउने महाअभियानमा तपाईंहरु सँगसँगै हिँड्नुपर्छ ।’ आचार्यले यसो भनिरहँदा मतदाताहरुले ताली बजाउँदै कोहलपुरलाई विकसित नगरपालिका बनाउने महाअभियानमा साथको प्रतिबद्धता जनाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै उपप्रमुख पदका उम्मेदवार सुवेदीले पनि आफूहरु निर्वाचित भए भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी लगायतका समस्या समाधानका लागि प्रतिबद्धता जनाए । उनले युवा तथा महिलाहरुलाई रोजगार, सीपमूलक तालिम, आर्थिक आर्यआर्जनका कार्यक्रमहरु ल्याइने प्रतिबद्धता जनाए ।