निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारको प्रतिबद्धता


निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज २६ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता ब्यक्त गरेका छन् ।

संवाद समूह बाँकेद्वारा सोमबार नेपालगन्जमा आयोजित स्थानीय तह निर्वाचन २०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

विभिन्न राजनीतिक दलबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका प्रत्यासीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना नै अन्तिम विकल्प भएको स्वीकार्दै प्रतिवद्धता सार्वजनिक गरेका हुन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धामा छन् ।

मुख्य निर्वाचन अधिकृत, सञ्चारकर्मी र अधिकारकर्मी लगायतकोे सहभागिता रहेको कार्यक्रममा उनीहरुले आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने वाचा गर्दै सामुहिक खबरदारी र हातेमालोको आवश्यक्तामा पनि जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नन्दलाल वैश्यले आचारसंहिता पालनाको प्रयास भइरहेको भन्दै कहीं कतै उल्लघंन भएको पाइए सचेत गराउन पनि निर्वाचन आयोगलाई आग्रह गरे । आचार संहिता उल्लघंन नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले अनुगमनसँगै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि जोड दिए ।

राप्रपा नेपालबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार अभय बस्नेतले व्यानर, झण्डा, स्टीकरको प्रयोग गरेर आचारसंहिता उल्लघंन भइरहेपनि कानूनी दायरामा ल्याउन कन्जुस्याँई भइरहेको दावी गरे ।

उनले आफु र आफनो पार्टीले आचार संहिता उल्लघंन नगर्ने प्रतिबद्धता दोह¥याए । यस्तै नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुखका उम्मेदवार शान्ति ढकालले आचारसंहिता उल्लघंन गर्नेले गरिरहेकै भएपनि आफुहरुले कहीं कतै नगरेको यदि त्यस्तो पाइएमा कानूनी कारबाही भोग्न पनि तयार रहेको उद्घोष गरिन् ।

मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले आचारसंहिता स्वयंले लागु गर्नु पर्ने भन्दै तडक भडक प्रचार गरेर जीतीन्छ भन्ने मानसिकता त्याग्न उम्मेदवारलाई आह्वान गरे ।

आचार संहिता उल्लंघन गर्नेलाई मतदाताले मतद्वारा पनि दण्डीत गर्ने दावी गर्दै उनले प्रमाणसहित उजुरी आएमा कानूनी कारवाही गरिने स्पष्ट पारे ।

कार्यक्रममा राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उम्मेदवार विन्दु चर्तीमगर, अधिवक्ता लोक बहादुर शाह लगायतले आचारसंहिता पालनाबारे आफ्ना विचार राखेका थिए ।

संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजिकरण गरिएको कार्यक्रममा संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले उम्मेदवारले अपनाउनु पर्ने आचारसंहिता बारे प्रकाश पारेका थिए ।
संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।