नेपालगन्ज २६ वैशाख : स्थानीय निर्वाचनका लागि मङ्गलबार (भोलि) देखि तीन दिन सीमा नाका बन्द हुने भएका छन् । गृह मन्त्रालयका अनुसार भोलि राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुनेछन् ।
नेपालसंग जोडिएको चीन र भारत दुवैतिरका नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । चुनाव हुँदा अन्तर्राष्ट्रिय नाका बन्द हुने गरेका छन् । यसअघि पनि चुनावको वेला सीमा नाका बन्द गरिँदै आएका थिए । मौन अवधिमा सीमा नाका बन्द गर्न लागिएको हो । मंगलबार राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।
यससँगै सीमा नाकामा सुरक्षा व्यवस्था पनि कडा गरिएको गृह मन्त्रालयले जनाएको छ । भने मौन अवधिमा मदिराको विक्री वितरण पनि बन्द गरिएको छ । चुनावी सुरक्षालाई ध्यानमा राखेर मदिराको विक्री वितरणमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै नेपाल–भारत सीमानाका आगामी तीन दिनसम्मका लागि बन्द हुने जनाएकोछ । यो अवधिमा अत्यावस्यक बाहेकका अरु सबैलाई पूर्णरुपमा आउजाउ रोक लगाइएको छ ।