नेपालगन्ज २९ वैशाख : शुक्रबार(भोली) हुने स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीहरु सबै स्थानीय निकाय तथा मतदान स्थलमा परिचालन भइसकेका छन् ।
गृह मन्त्रालयका अनुसार निर्वाचनको सुरक्षा केन्द्रित सुरक्षाकर्मीहरुको संख्या २ लाख ५० हजारभन्दा माथि छ । एक लाख म्यादी प्रहरी, ६० हजारभन्दा बढी नेपाल प्रहरी, ७० हजार नेपाली सेना निर्वाचन सुरक्षामा खटिएका छन् ।
१० हजारभन्दा बढी मतदानस्थलको सुरक्षाको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी तथा सबैभन्दा बाहिरी घेरामा नेपाली सेना हुनेछन् । सुरक्षा संवेदनशीलताअनुसार मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा बाँडिएको छ । अति संवेदनशील मतदानस्थलमा कम्तिमा ३ जना नेपाल प्रहरी र ८ जना म्यादी प्रहरी, संवेदनशीलमा ३ जना नेपाल प्रहरी र ६ जना म्यादी प्रहरी तथा कम संवेदनशीलमा तीन जना नेपाल प्रहरी र ५ जना म्यादी प्रहरी हुनेछन् ।
मतपेटिकाको संख्याअनुसार हरेकमा एक जना प्रहरी र दुई जना म्यादी प्रहरी थपिँदै जानेछन् । प्रत्येक मतपेटिका नजिकै एक जना नेपाल प्रहरी र दुई जना म्यादी प्रहरी हुनेछन् । मतदानस्थलभित्रको सुरक्षा कमाण्ड नेपाल प्रहरीका जुनियर अफिसरले गर्नेछन् ।
मतदानस्थलभित्र खटिने नेपाल प्रहरीका तीनैजना कर्मचारीसँग हतियार हुनेछ । मतदानस्थलको सुरक्षा चुनौतीअनुसार नेपाली सेना बढीमा ३० मिनेटभित्र त्यहाँ आइपुग्ने गरी सुरक्षा व्यवस्थापन गरिएको छ । थप जनशक्तिका लागि हेलिकप्टरलाई पनि तयारी अवस्थामा राखिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।