सांकेतिक तस्विर
नेपालगन्ज २९ वैशाख : देशमा संघीयता लागुभएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनको हामी पूर्व सन्ध्यामा छौं । यतिबेला मौन अवधि चलेकोछ । मौन अवधिमा उम्मेदवारले मतदातालाई विभिन्न प्रभावमा समेत पारेकाछन् । निर्वाचन आयोगले मतदातालाई प्रभावमा पार्ने उम्मेदवारहरुलाई पक्राउ गर्ने र कारबाही अगाडी समेत बढाएकोछ ।
शुक्रबार(भोली) हुने स्थानीय तह निर्वाचनका लागि हुने मतदानमा मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ ।
मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ ।
तर, मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिन नहुने आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।
त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै बस्तु लैजान नपाइने आयोगले जनाएको छ ।
नियमको उल्लंघन भएमा कानून बमोजिम कारबाही हुने आयोगको सूचनामा जनाइएको छ । मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका व्यक्तिमात्र मतदानस्थलमा जान पाउने निर्वाचन आयोगले जनाएको छ । माथि उल्लेखित कुराको अटेरी गरेमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।