बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा : सेनासहित चार हजारबढी सुरक्षाकर्मी खटिए, प्रहरीको १७ वटा मोबाइल टोली परिचालित


बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा : सेनासहित चार हजारबढी सुरक्षाकर्मी खटिए, प्रहरीको १७ वटा मोबाइल टोली परिचालित

नेपालगन्ज २९ वैशाख : स्थानीय तहको निर्वाचनका लागि बाँके प्रहरीले विशेष सुरक्षा सर्तकता अपनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले निर्वाचनमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोली खटिएको जानकारी दिए ।

उनका अनुसार मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालित भएका छन्, भने मतदान केन्द्र बाहिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भएका छन् । ‘मतदान केन्द्रलाई प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिनेछन्, बाहिरतिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी रहनेछन्,’ उनले भने ।

निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा १ सय ३६ मतदान स्थलमा ३ सय ७९ मतदान केन्द्र रहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना जनशक्ति परिचालित भएका छन् । निर्वाचनमा ४ हजार बढी सुरक्षाकर्मी परिचालितको बाँके प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्लामा कुल ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता छन् । यि मध्ये एक लाख ६७ हजार ३ सय ४९ पुरुष, एक लाख ६२ हजार १ सय १७ महिला र ७ जना अन्य मतदाता रहेका छन् । प्रवक्ता न्यौपानले एउटा मतदान केन्द्रमा कमाण्डरसहित ३ जना नेपाल प्रहरी र ६ देखी ७ जनासम्म म्यादी प्रहरी खटाइएको प्रष्ट्याए ।

जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न १७ वटा नेपाल प्रहरीको मोबाईल टोली परिचालन भएको छ । नेपाल भारत सीमा नाका बन्द छ । सीमा क्षेत्रलाई सशस्त्र प्रहरीले विशेष निगरानीमा राखेको प्रवक्ता न्यौपानेले बताए ।