नेपालगन्ज ३० वैशाख : निर्वाचन आयोगका अनुसार शुक्रबार भएको स्थानीय तह निर्वाचनमा देशभर ४४ मतदान केन्द्रमा मतदान स्थगित भएकोछ ।
१४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको जनाएकोछ ।
स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
उनका अनुसार हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्न सुरु गरिनेछ । भने देशका अधिकांश स्थानमा आज नै मतगणा हुने भएकाले मतगणा स्थलमा मत पेटीका ओसार्ने काम भइरहेकोछ ।
यसैबीच, शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताए । ‘निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ’ उनले भने ।
धेरै मतदाता भएको ठाउँमा अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए ।