बाँकेमा अपांगमैत्री मतदान केन्द्र नहुँदा मतदाताले सास्ती भोगे


बाँकेमा अपांगमैत्री मतदान केन्द्र नहुँदा मतदाताले सास्ती भोगे

घिस्रिएर मतदानका लागि जाँदै अपांगता भएका मतदाता । तस्विर: सौजन्य सिता बोहोरा

नेपालगन्ज ३१ वैशाख : बाँकेका ८१ वटा वडामा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र राखिएको थियो । तर, बाँकेका अधिकांस मतदान केन्द्र अपांगतामैत्री देखिएनन् । यसले गर्दा अपांगता भएका मतदाताहरु ह्वील चियरमा चढेर मतदान केन्द्रसम्म पुग्न सकेनन् ।

मतदान केन्द्र अपांगता मैत्री नहुँदा मतदान गर्न आफन्तको साहारा लिनुपरेको हो । मतदान केन्द्रमा अपांगतासहित अशक्त, जेष्ठ नागरिक मतदाताको संवेदनशीलतालाई बेवास्ता गरेको सर्बसाधारणको बुझाई छ ।

‘मतदान केन्द्रमा अपांगता, अशक्त र जेष्ठ नागरिकलाई जुन रुपले प्राथमिकता दिनुपथ्र्यो, उनीहरुलाई वास्ता नै नगरेको जस्तो देखियों,’ नेपालगन्ज–२० राँझाका स्थानीय नन्दकुमार बर्माले बताए । कतिपय मतदान केन्द्रको ब्यवस्थापन फितलो हुँदा चर्को गर्मीमा मतदाताले घण्टौं समय लाईनमै बिताउनु परेको उनले बताए ।

अपांगता अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मी सीता बोहोरा यसपटकको निर्वाचनमा अपांगता मतदाताप्रति निर्वाचन आयोग कत्तिपनि संवेदनशील नदेखिएको बताउँछिन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘आर्दश माध्यामिक बिद्यालय केन्द्रमा अपांगता ब्यक्तिले भोगेको पीडालाई जसरी हामीले प्रत्यक्ष रुपमा देख्यौं, यस्ता पीडा जिल्लाका हरेक मतदान केन्द्रमा अपांगता ब्यक्तिले भोग्नु भयो,’ उनले भनिन् ‘अपांगता ब्यक्तिले सहज रुपमा आफ्नो मताधिकार प्रयोग गर्न नपाउनु दुःखद कुरा हो ।’ बाँकेका प्रायः मतदान केन्द्र निरीक्षण गर्दा अधिकांस केन्द्र अपांगतामैत्री नभएको पाइएको अधिकारकर्मी बोहराले सुनाइन् ।

बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी मतदान केन्द्र धेरै साँघुरा हुँदा मतदाताले सास्ती बेहोर्नु परेको स्वीकार गरे । ‘कतिपय मतदान केन्द्र त सामान्य मान्छेले पनि उभिएर मतदान गर्न नसक्ने खालका छन्, अझ अपांगता मैत्री हुन सक्ने त कुरै भएन,’ उनले भने ‘निर्वाचन आयोगले पाँच वर्षमा एक पटक निर्वाचन गराउँछ, जनसंख्या वर्षेनी बढिरहेको छ, तर मतदान केन्द्र पुरानै संरचनामा छन् ।’

गाउँभन्दा शहरका मतदान केन्द्र साघुँरा रहेको मुख्य निर्वाचन अधिकृत तिवारीले बताए । ‘मतदान केन्द्र एकदमै साघुँरा भएपनि मतदाताले बडो संयमता पुर्वक मतदान गर्नुभयो,’ उनले भने । कतिपय मतदान केन्द्रमा अपांगता ब्यक्तिले आफ्नो ह्वील चियर सहजै लैजान नसक्ने अवस्था रहेको तिवारीले सुनाए ।

यसैबीच, अपांग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपालले शुक्रबार एक विज्ञप्ती जारी गरि स्थानीय तह निर्वाचन परिवेक्षणका क्रममा अपाङ्गता भएका ब्यक्तिहरुको लागि भौतिक पहुँचयुक्त मतदान केन्द्र नहुँदा मताधिकार प्रयोग गर्न सकस भएको जनाएकोछ ।

अपाङ्गता भएका ब्यक्तिहरुको आवश्यक्ता अनुसारका सहायक सामाग्री प्रयोग गर्न नपाँउदा स्वय मतदान गर्न बाट पनि बन्चित भएको डेक नेपालले बताएकोछ ।

परिवेक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २० मा अपाङ्गता भएका ब्यक्तिहरुले आफुलाई ह्विल चियर, ट्राई साईकल मतदान स्थल भित्र प्रवेश गराउन नपाउँदा घस्रियर मतदान गर्न जानु पर्ने बाध्यताले राज्यको नीतिलाई गिज्याइरहेको अपांगता क्षेत्रमा काम गरिरहेको संस्था डेक नेपालले विज्ञप्तीमा भनेकोछ –‘उनीहरुले प्रयोग गरिरहेको सहायक सामग्री प्रयोग गर्न पाउनु पर्छ भनेर आवाज उठाउन खोज्दा प्रहरी तथा कर्मचारीहरुबाट रुखो ब्यवहार खेप्नुपरेको थियो ।’

‘अन्य मतदान केन्द्रहरुमा पूर्ण अपाङ्गतामैत्रि मतदान स्थल नभएको, अपाङ्गता भएका ब्यक्तिहरु, गर्भवति महिला, असक्त ब्यक्तिहरु, सुत्केरि, जेष्ठ नागरिकहरुका लागि लाईन ब्यवस्थापन राम्रो नपाइएको डेकद्वारा जारी विज्ञप्तीमा भनिएकोछ । सहयोगिको ब्यवस्था आदिमा समेत राजनैतिक दल, निर्वाचन आयोग, कार्यालयले आवश्यक ब्यवस्था मिलाउन नसकेले अपाङ्गता भएका ब्यक्तिहरुको मतदानमा सहज पहुँच पुग्न नसकेको हाम्रो सामु प्रष्ट छ । त्यसैले अपाङ्गता भएका ब्यक्ति तथा अन्य पछाडि पारिएका समुदायको तर्फबाट उनीहरुको राजनीतिक अधिकार सुनिश्चित गर्नका निमित्त सामान्य व्यक्ति सरह राजनीतिक क्रियाकलापमा निर्वाध रुपमा सहभागि हुन पाउने ब्यवस्थाको सुनिश्चिता होस् भनि सम्वन्धिच सवैमा जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा भनिएकोछ ।

डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्यले जारी गरेको उक्त विज्ञप्तीमा ५ बुँदे सम्बोधन गर्नुपर्ने सवाल समेत उठाइएकोछ । ती यसप्रकार रहेकोछ ।

सम्वोधन गर्नु पर्ने सवालहरु
- वाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० को राँझा चोकमा रहेको आर्दश माविको मतदान स्थलमा अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामाग्रीहरु व्हिलचियर, वैशाखी लगायत मतदान स्थलमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुले सहायक सामाग्री प्रयोग गर्न नदिई उनीहरुको मानव अधिकारको गम्भिर उल्लंघन गर्ने कार्य भएकोले सो कार्यमा सँलग्न सवै कर्मचारीहरुलाई कानुन वमोजिम कारवाही गर्न जोडदार माग गर्दछौ ।
- मतदान गर्न जाने ठाउँ अपाङ्गता भएका व्यक्तिहरूले बिना अवरोध सजिलैसँग जान सक्ने कानूनी व्यवस्थालाई आगामी दिनमा हुने निर्वाचनमा मतदान अधिकृत र निर्वाचन अधिकृत र निर्वाचनमा खटिने कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरियोस ।
- अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक परेको खण्डमा उनीहरूले चाहे अनुरूप भोट खसाल्नका लागि चाहिने सहयोगी र अपाङ्गता परिचय पत्रको आधारमा ‘क’ र ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सोझै अनुमति विना आफ्नो सहयोगीको साथमा मतदान स्थलमा जाने नीतिगत व्यवस्था गरियोस् ।
- मतपत्र अपाङ्गता भएका व्यक्तिहरूले सजिलै उपयोग गर्न सक्ने खालको नभएकोले अपाङ्ग भएका व्यक्तिहरुको वर्गिकृत तथ्यांक निर्वाचन आयोगवाथ राख्ने व्यवस्था मिलाईयो। सो को आधारमा मतपत्रहरु जस्तैः दृष्टिविहीन तथा अल्पदृष्टि युक्त व्यक्तिहरूले समेत उपयोग गर्न सक्ने गरि मतपत्र छाप्ने व्यवस्था गरियोस ।
- निर्वाचन ब्यवस्थापन समितिमा अपाङ्गता भएका ब्यक्तिको सहभागिता नभएकोले सो व्यवस्था गयिोस् ।