नेपालगन्ज १२ जेठ : बर्दियाको राजापुर नगरपालिकाले शिक्षकलाई राजनीतिक दलको कार्यकारिणी पदमा नबस्न भन्दै ७ दिने अल्टिमेटम दिएकोछ ।
नवनिर्वाचित नगर प्रमुख दिपेश थारुले बुधबार एक सूचना जारी गरि शिक्षकलाई राजनीतिक दलको कार्यकारिणी पदमा बस्न नपाइने भएकोले पद त्याग गरेको जानकारी तत्काल गराउन निर्देशन दिँदै कार्यकारिणी पदमा बसेको फेला परे कारबाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएका हुन् ।
उनले प्रचलित शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ (छ) मा उल्लेखित ब्यवस्थाको उलंघन गरि विभिन्न राजनीतिक दलमा संलग्न रहि सक्रिय रुपमा राजनीतिक दलको कार्यकारिणी पदमा रहन नपाइने भएकोले सात दिनभित्र उल्लेखित पदबाट राजिनामा दिन नगर प्रमुख थारुले निर्देशन दिएका छन् ।
‘विद्यालयको पठनपाठन प्रभावित हुने गरि आचरण विपरित कार्य गर्ने यस राजापुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई उल्लेखित पदबाट राजिनामा दिन लगाई सात दिनभित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कारवाही भई जाने ब्यहोरा समेत सूचित गरिन्छ,’ नगर प्रमुख थारुले जारी गरेको सूचनामा उल्लेख छ ।