नेपालगन्ज १२ जेठ : बास नेपालले नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टलाई भ्रष्टाचार बिरुद्ध सुझाव पत्र प्रदान गरेको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुखको कार्यकक्षमैं गएर बास नेपालले प्रमुख बिष्टलाई सुझाव पत्र बुझाएको हो ।
बास नेपालका पूर्ब केन्द्रिय अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाहले प्रमुख बिष्टलाई सुझाव पत्र बुझाएका हुन् ।
बुझाईएको सुझाव पत्रमा उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन जनप्रतिनिधिहरुबाट तत्काल भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार गर्न दिदैनौं भन्ने प्रतिबद्धता जाहेर गरि सार्वजनिक गर्न अनुरोध गरिएको छ ।
सुझाव पत्रमा सबै जनप्रतिनिधिहरुको सम्पत्ति बिवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउन, उपमहानगरपालिकाका नागरिकहरुसँग नियमित प्रत्यक्ष सम्बाद गर्ने व्यवस्था मिलाउन, सामाजिक जवाफदेहिताका संयन्त्रहरु (सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण आदि) मार्फत पालिकामा सुशासन कायम गर्न, पालिकाले गर्ने कार्यक्रम र योजनाहरुको नियमित सार्वजनिकरण गर्न माग गरिएको छ ।
सूचनाको हक सुनिश्चित गरि पालिकालाई सूचनामैत्री बनाउन, पालिकाको टोल फ्रि नम्बरलाई व्यवस्थित गर्न, सबै वडाहरुदेखि पालिकासम्म गुनासो सुनुवाई प्रणाली व्यवस्थित गर्न, पालिकामा जनप्रतिनिधिहरुसँग नागरिकको सहज पहुँच स्थापित गर्न, घरदैलो अभियान, घुम्ति सेवा, नागरिकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरि नागरिकहरुका आवाज सुन्ने व्यवस्था मिलाउन बासले अनुरोध गरेको छ ।
निर्वाचन ताका व्यक्त गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गर्नुका साथै उपमहानगरको बिकासका लागि बिज्ञ समूह गठन गर्न, पालिकाको गुरु योजना बनाउन, नियमित पत्रकार सम्मेलन गरि पालिकाको प्रगति सार्वजनिक गर्न बासले सुझाव दिएको छ । सुझाव ग्रहण पछि प्रमुख बिष्टले सुझाव अनुसार अगाडी बढ्ने प्रतिबद्धता जनाए ।