डुडुवा (बाँके) १२ जेठ : डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न शुरु गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको हो ।
प्रशासनिक खर्चमा मितव्यीता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । उनका अनुसार करार कर्मचारीहरुमध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीहरुको सम्झौता अन्त्य गर्ने नीतिगत निर्णय भएको छ ।
कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नितिगत निर्णय गरे ।
दोस्रो कार्यकालका लागि निर्वाचित नरेन्द्रले खर्च कटौतीसंगै गाउँपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि आवश्यक पहल गर्ने भन्दै गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई धन्यवाद ज्ञापन गरे ।
उनले जनताको सेवामा सधैं कटिबद्ध भएर खट्ने समेत प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरीयता, तथा प्रभावकारी सेवा प्रवाहमा कुनैपनि कन्जुस्याँई नगर्ने स्पष्ट पारे ।
डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोले बुधबारदेखि कार्यभार सम्हालेका हुन् ।
गाउँपालिकामा आयोजित एक समारोहकाविच अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले कार्यभारको जिम्मेवारी बहन गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, लेखा अधिकृत रामबहादुर केसी, प्राविधिक प्रमुख लगायतका कर्मचारीहरुले अध्यक्ष र उपाध्यक्षलाई फुलमाला र खादाले स्वागत गरेका थिए ।