नेपालगन्ज १३ जेठ : गणतन्त्र दिवसका अवसरमा सरकारले ८ सय १८ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । भने १६ जना कैदीलाई माफी दिइएकोछ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन् ।
सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेतका ५४७ गरी कुल जम्मा ८ सय १८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागु हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी उमाकान्त पराजुलीसहहित १६ जना कैदीलाई माफी दिइएको छ ।
‘संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ,’ राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्गलबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गते अर्थात आईतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा कैद सजाय मिनाहा माफी दिने निर्णय गरेको हो ।