जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी


जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी

नेपालगन्ज १५ जेठ : जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी हुने गरेकोछ । गर्मी बढेसंगै भारतीय बजार रुपैडिहाबाट दिनहुँ करिब १६ लाखको कोक, डिउ, फेन्टा र स्प्राईट जस्ता पेय पदार्थ तस्करी हुने गरेको पाइएको हो ।

दिनहुँ ठूलो मात्रामा डिउ तस्करी भइरहँदा सम्बन्धित सरोकारवाला निकाय मौन बसिरहेकोछ । खुलेयाम भारतमा उत्पादित यस्ता पेय पदार्थ तस्करी भइरहदाँ रोक्ने काम समेत भएको छैन ।

भारतमा उत्पादित यी पेय पदार्थ नेपाली बजारभन्दा केही सस्तो हुने भएकाले दिनहुँ पैदल, मोटरसाईकल तथा रिक्सामा घरेलु प्रयोजनका लागि भन्दै नेपाल तस्करी हुदैँ आएको छ ।

नेपालगन्जमा भण्डारण गर्ने र महंगोमा बेच्ने हुदाँ नेपालमा उत्पादन हुने कोक, डिउ, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ विक्री वितरणमा समेत भारी गिरावट आएको छ । भन्सार छलि गरि भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याइएका यस्ता पेय पदार्थले नेपाली बजारमा कब्जा जमाइरहँदा यहाँको ब्यापार व्यवसाय धरासय बन्दै गएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

भारतीय बजारबाट भन्सार छलि गरि ल्याइएका कोक, फेन्टा, स्प्राईट, डिउ जस्ता पेय पदार्थको एउटै बोतलमा ५०–६० रुपैयाँसम्म नाफा खाने गरेका छन् ।

नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले दिनहुँ सयौं मान्छेले क्यारिङ्ग गरि नेपालगन्जका पसल–पसलमा बेच्ने गरेकाछन् । भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका छन् ।

घरेलु प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ नेपालगन्जमा भण्डारण गरि नेपालगन्ज र छिमेकी जिल्लाहरुमा समेत महंगोमा बेच्ने गरिएकोछ । युनिलिभरका कुनैपनि उत्पादन एक देशदेखि अर्को देश लान पाइदैन ।

यसअघि भारतबाट भन्सार छलि ल्याइएका पेय पदार्थमा कडा कदम चाल्दै नेपालगन्ज भन्सार कार्यालयले उक्त सामाग्री ल्याउन रोक समेत लगाएको थियो । भने बजार अनुगमनमा भारतबाट भित्रिएका पेय पदार्थ बरामद गरी नष्ट समेत गरिएको थियो ।

जिल्लाका पसलहरुमा अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानून बमोजिम कारबाही हुने ब्यवस्था छ । तर, खाद्य तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज भन्सार कार्यालय, प्रहरी र प्रशासनको मौनताका कारण नेपालगन्जमा भारतीय पेय पदार्थले कब्जा जमाइरहेकोछ ।