नेपालगन्ज १५ जेठ : सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रलाई प्राथमिकता दिइएको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशको अधिकांश अघिल्ला योजनालाई निरन्तरता दिएको छ भने केही नयाँ योजना पनि बजेट समेटिएका छन् ।
जसमा दाडको राप्ती राजमार्गअन्तर्गतको अमिलिया–तुलसीपुर–सल्यानलगायतको सडक स्तरवृद्धिका लागि ३ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ । भैरहवामा भएको विमानस्थल र सेजलाई आवश्यक बजेट छुट्टाएको छ । भैरहवामा सञ्चालन भएको विशेष आर्थिक क्षेत्र सेजलाई पूर्णरुपमा संचालनमा ल्याइने छ ।
यस्तै भैरहवामा गौतमबुद्ध विमानस्थललाई पूर्णरुपमा संचालन गर्दै दोस्रो टर्मिनलको काम तत्काल निर्माण सुरु गरिने छ । यस्तै रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण कार्य हुने छ । त्यसको लागि आवश्यक बजेट छुट्टयाइएको जनाइएको छ ।
क्षेत्रीय कारागार बाँकेको निर्माणका लागि बजेट छुट्टयाइएको छ । बाँकेसहित देशका १० वटा कारागारको लागि एकमुष्ट ३७ करोड छुट्याइएको छ । यस्तै रुपन्देहीको भैरहवामा एकीकृत जाँच चौकी निर्माण, बुटवल इन्टरनेट एक्सचेञ्ज केन्द्र खोल्न सम्भाव्यता अध्ययन, बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वयमा आयोजना अगाडि बढाइने उल्लेख छ ।
यस्तै बुटवल– नारायणगढ सडक आगामी आबमा निर्माण सम्पन्न गरिने छ भने बुटवल–गोरुसिङ्गे सडक निर्माणका लागि डिपिआर निर्माण, रुपन्देहीको तिनाउ नदीमा बहुउद्देश्यीय सिग्नेचर ब्रिज निर्माणको डिपिआर बनाउने छ ।
यस्तै बुटवल– बेलहिया सडक आगामी वर्ष निर्माण सम्पन्न गरिनेछ । यस्तै बुटवल र पाल्पामा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने उल्लेख छ । दुम्किबास–बर्दघाटको दाउन्नेमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिनेछ । बन्द रहेको बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
यस्तै बुटवल भैरहवामा ट्राम यातायातको सम्भावना अध्ययन गरिने, रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ । यस्तै सहरी नदी करिडोर कार्यक्रमअन्तर्गत रुपन्देहीको तिनाउ दानव नदी करिडोरमा तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम गरिने उल्लेख छ । चितवन– रामपुर–बुटवल द्रुत मार्ग नयाँ योजनाका लागि बजेट व्यवस्था गरिएको छ ।