अब दुईतर्फी मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने


अब दुईतर्फी मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने

नेपालगन्ज विमानस्थलमा उडानका लागि इन्धन भर्दै गरेको बुद्ध एयरको विमान । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज १८ जेठ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने नियम लागू गरेको छ ।

जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’ को मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने नियम बुधबारदेखि लागू गरिएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने नियम बनाउन क्यानलाई सोमबार निर्देशन दिएका थिए ।

क्यानले उडानका लागि बनाएको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार हुने आन्तरिक उडानमा केही समय ढिलाइ भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

उडान सुरक्षालाई ध्यानमा राखेर लागू गरिएको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान कम्तिमा पनि दुई घण्टा उडान ढिलो भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा दुई घण्टाजति रोकिएको थियो। मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै क्यानले उडानका लागि अनुमति नदिँदा उडान दुई घण्टा रोकिएको बताइएको छ ।

प्रतिकूल मौसमका कारण देशमा पटक–पटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै क्यानले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने निर्णय गरेको हो ।

महानिर्देशक अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ ।

उक्त निर्णयपछि अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ । क्यानका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ ।

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परेको क्यानको प्रारम्भिक अनुमान रहेको छ । उक्त जहाज दुर्घटनामा परी चालक दलका सदस्य तीन जना, १३ नेपाली, चार भारतीय तथा दुई जर्मन नागरिकसहित २२ जनाको मृत्यु भएको थियो । -रासस