बाँके विपद् ब्यवस्थापनको तयारीमा जुट्यो

मनसुनबाट बाँकेका १० हजार घरपरिवार प्रभावित हुने आँकलन

यस वर्ष सरदर भन्दा वढी वर्षा हुने पूर्वानुमान


मनसुनबाट बाँकेका १० हजार घरपरिवार प्रभावित हुने आँकलन

नेपालगन्ज २६ जेठ : जिल्ला विपद् ब्यवस्थापन समिति बाँकेले यस वर्ष बाँकेमा मनसुनबाट १० हजार घरपरिवार प्रभावित हुनसक्ने आँकलन गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको मनसून पूर्वतयारी बैठकमा यस्तो बताइएको हो । यस वर्ष मनसुनबाट बाँकेका १० हजार र सबै विपद्बाट २५ हजार प्रभावित हुनसक्ने आँकलन गर्दै जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ र मनसून पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको छ ।

बाँकेका ८ वटै पाालिकाका प्रमख र उपप्रमुख सम्मेलित उक्त बैठकमा समितिका अध्यक्ष एवम बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुने आँकलन अनुसार सबै सुरक्षा निकाय, विषयगत समितिलाई तयारी अवस्थामा राखेको जानकारी दिए ।

त्यसै गरी मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदिमा प्रदेश सरकार, सबै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा असार ६ गते विहान ११ बजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिका भित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदि तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय गरेको छ । अत्यावश्यक सामाग्री खानेकुरा, कपडा, औषधी, पानीहरुको आवश्यक भण्डारण गर्नेे निर्णय गरेको छ ।

नजिकको नदी, नालामा पानीको बहाबको सूचना लिई नदिको सतह बढेको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए ।

त्यसै गरी बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटबन्धको लागि कार्य गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।