जिसस बाँकेको प्रमुखमा फराकिलो मतान्तरले काँग्रेसका चौधरी विजयी


जिसस बाँकेको प्रमुखमा फराकिलो मतान्तरले काँग्रेसका चौधरी विजयी

नेपालगन्ज २७ जेठ : जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली काँग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न भएको मतदानमा कुल खसेको १६ मत मध्ये १३ मत प्राप्त गरि चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी(जसपा)का उमेशकुमार कुर्मीले ३ मत प्राप्त गरे ।
उप–प्रमुख पदमा भने नेपाली काँग्रेसकी नेतृ सीता कार्कीको एकल उम्मेदवारी परेकाले यसअघि नै निर्वाचित भइसकेकी थिइन ।

यस्तै समन्वय समितिको सदस्य (महिला) पदमा नेकपा (माओवादी केन्द्र)की चमेली थरुनी र रेवती दमाई पनि १३/१३ मत प्राप्त गर्दै निर्वाचित भए ।

यसैगरी जसपाकी तरन्नुन बानो शेषले ३ मत प्राप्त गरेर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मी पासीले २ मत प्राप्त गरि पराजित भइन । महिला सदस्यमा ३ जना निर्वाचित हुने ब्यवस्था छ ।

Kanti Aarogya Hospital Nepalgunj

समन्वय समितिको सदस्य (खुल्ला) मा भने नेपाली काँग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी पनि यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन् । यि मध्ये नेपाली काँग्रेसले कोहलपुर नगरपालिका तथा राप्तीसोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ । यस्तै नेपालगन्जमा काँग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ ।

खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा काँग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ ।

समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने ब्यवस्था छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता थिए । यि मध्ये १२ जना मतदाता नेपाली काँग्रेसका थिए ।