वडाको समृद्धिका लागि कलम चलाउन पत्रकारिता तालिम


वडाको समृद्धिका लागि कलम चलाउन पत्रकारिता तालिम

नेपालगन्ज ३१ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ मा आधारभूत पत्रकारिता तालिम सोमवारबाट सुरु भएको छ । नेपालगनज वडा नम्बर–९ को सहयोगमा समृद्धिका लागि सञ्चार नेपाल, बाँकेले आधारभूत पत्रकारिता तालिम दिइरहेको संस्थाका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने तालिममा पत्रकारलाई चाहिने आधारभूत ज्ञान दिइने उनले बताए । उनले वडाको समृद्धिका लागि कलम चलाउन उत्प्रेरित गर्न तालिम आयोजना गरिएको बताए ।

कार्यक्रम उद्घाटनका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ का अध्यक्ष गोविन्दप्रसाद रेग्मीले सञ्चार क्षेत्र राष्ट्रको चौथो अंग भएको बताउँदै उनले समाजमा भएका राम्रा, नराम्रा कुरा बाहिर ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले तालिममा सहभागीलाई वडा कार्यालयले थालेको सरसफाई अभियानमा साथ दिन समेत आग्रह गरे । ‘सञ्चार क्षेत्र समाजको तेस्रो आँखा हो । पत्रकारले समाज सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा वडा सदस्य जयन्ती खत्रीले पत्रकारले लेखेका समाचारले विकास, निर्माणमा टेवा पुग्ने बताउँदै राम्रा कामलाई प्रोत्साहन र नराम्रा कुरालाई निरुत्साहित गर्न पत्रकारले भूमिका खेल्नुपर्ने बताइन् ।

उनले अरुले नदेखेको कुरा पत्रकारको आँखाले देख्न सक्ने बताउँदै सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सुझाव दिइन । उनले तालिममा सहभागीलाई धेरै भन्दा धेरै सिकेर ब्यवहारमा लागू गर्न समेत आग्रह गरिन् ।

वडा नम्बर–९ का वडा सदस्य मिना नेपालीले वडाको समग्र विकासमा टेवा पुर्याउन वडा कार्यालयले तालिम आयोजना गरेको धारणा राखिन् । कार्यक्रममा वडा सचिव लगायतको सहभागिता रहेको थियो । भने पाँच दिनको उक्त तालिममा पत्रकार विश्वराज पछ्ल्डङ्ग्या, विमला चौधरी, अर्जुन ओली, चित्रबहादुर केसी र विजय मल्लले प्रशिक्षण दिइरहेकाछन् ।