कोहलपुर नगरपालिकाद्वारा सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई

विदाको दिन सरकारी साधन प्रयोग गर्न नदिने


कोहलपुर नगरपालिकाद्वारा सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई

कोहलपुर ३१ जेठ : बाँकेको कोहलपुर नगरपालिकाले सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले भौतिक संरचना निर्माण गर्दा सडक वा सार्वजनिक जग्गामा निर्माण सामग्री राख्नुपरेमा वडाबाट अनुमति लिनुपर्ने निर्णय गरेको छ ।

तीन दिनसम्म मात्र निर्माण सामग्री राख्न पाउने गरी सम्बन्धित वडा कार्यालयबाट अनुमति लिनुपर्ने निर्णय गरिएको हो । अनुमतिको म्याद सकिएपछि नउठाइएका सामग्रीहरु नगरपालिकाले जफत गरी दण्ड जरिवाना गर्ने नगर प्रमुख पूर्ण आचार्यले बताए ।

वडा कार्यालय एवम् नगरपालिकाले यसको प्रभावकारी रुपमा अनुगमन गर्ने आचार्यले बताए । अब नगरपालिका क्षेत्रभित्र जथाभावीरुपमा सार्वजनिक स्थलमा निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा आदि) थुपार्न पाइने छैन । यस्तै सहरी क्षेत्रको फुटपाथ, ठेलागाडा लगायतलाई व्यवस्थित गर्ने निर्णय गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै कार्यपालिका बैठकले कोहलपुर नगरपालिकाको नाममा रहेका सम्पूर्ण सवारी साधनहरुमा सरकारी नम्बर प्लेट (सेतो नम्बर प्लेट) कायम हुन बाँकी रहेको भए यथाशिघ्र कायम गर्ने र सार्वजनिक विदाको दिन नियमानुसार अनुमति लिएर बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नदिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

नगरपालिकाको निर्णय विपरीत कुनै कर्मचारी पदाधिकारीले सवारी साधनको दुरुपयोग गरे नगरेको प्रभावकारी अनुगमनका लागि ट्राफिक प्रहरी कार्यालयलाई र निगरानीका लागि सरोकारवाला निकाय संस्थालाई समेत अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकले कोहलपुर नगरपालिकाभित्र व्यवस्थित सहरी विकासका लागि एकीकृत सहरी विकास एवम् सघन सहरी विकासको पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालयमा एकीकृत सहरी विकास कार्यक्रम माग गरी पठाउने निर्णय पनि गरेको छ ।