नेपालगन्ज १ असार : प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर–५ ले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बस्तीस्तरबाट योजना संकलन कार्यलाई तिव्रता दिएकोछ ।
गौमुखी गाउँपालिका वडा नम्बर–५ का वडाअध्यक्ष बरुणध्वज मल्लले वडाका टोल–टोल पुगी बस्तीस्तरबाट योजना संकलन कार्यलाई तिव्रता दिएका हुन् ।
आगामी वर्षको बजेट असार १० गतेभित्र गाउँसभामा पेश गरिसक्नुपर्छ । गाउँसभा नजिकिदै गर्दा वडाले बस्ती स्तरबाट योजना संकलनलाई तिव्रता दिएको वडाअध्यक्ष मल्लले जानकारी दिए ।
‘अहिले वडाका विभिन्न बस्तीस्तरमा पुगेर योजना संकलन गरिहेकाछौं, समग्र वडाको विकास र समृद्धिका लागि बस्तीस्तरका जनसमुदायले छनोट गरेका योजनालाई प्राथमिकीकरण गर्ने कार्यमा ब्यस्त छौं, हाम्रो गाउँसभा पनि नजिक आइराखेको छ,’ उनले भने ।
योजना संकलनकै क्रममा गौमुखी गाउँपालिका वडा नम्बर– ५ को सुलाले, ठूलाबेसी, खुङ्ग, बाटुले, मोठ, सिरचौर लगायतका बस्ती र टोलमा पुगेर आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद् ब्यवस्थापन, कृषि तथा स्वास्थ्य विकास, संस्थागत विकास र सुशासन जस्ता विषयलाई टेकेर योजना तथा कार्यक्रम संकलन गरिरहेको छ ।

वडाअध्यक्ष मल्लले स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा योजना संकलन गर्ने काम चलिरहेको बताए ।
बस्तिभेलाबाट आफ्ना टोल र बस्तिका योजना छनोट गर्ने र आफ्नो गाउँलाइ कसरी अगाडि बढाउने भनी छलफल चलिरहेको छ यो एउटा राम्रो पक्ष हो तर, कसरी गर्न सकिन्छ त गाउँ र नगरको बिकास ? हाम्रो गाउँ र नगरको बिकासका कुरा गरिरहदा सबैभन्दा पहिले हाम्रा समस्या के हुन भनी पहिचान गर्नु र त्यही अनुरुप योजना छनोटलाई प्राथमिकीकरण गर्ने कार्य भइरहेको उनले बताए ।
यस्तै उक्त वडामा रहेको जनसहयोगी आधारभूत विद्यालयलाई मावि बनाउनका लागि विशेष पहल अघि बढाइएको वडाअध्यक्ष मल्लले बताए । उनका अनुसार समग्र विद्यालयको स्तरउन्नती गर्न र विद्यालयलयालाई माध्यमिक तह सञ्चालनका लागि विभिन्न सहयोग जुटाउने कार्य निरन्तर अघि बढाइएको बताए ।