बाँकेका ट्रक ब्यवसायी आन्दोलित, अनिश्चितकालिन ढुवानी बन्द


बाँकेका ट्रक ब्यवसायी आन्दोलित, अनिश्चितकालिन ढुवानी बन्द

नेपालगन्ज २ असारः सरकारी रबैयाले आजित बाँकेका ट्रक व्यवसायीले आजबाट ढुवानी साधन थन्काएकाछन् । आफ्नो व्यवसाय धरासयी भएको गुनासो गरेका व्यवसायीले पूर्व निर्धारित योजना अनुसार ढुवानीका साधन थन्काएका हुन् । उनीहरुले ढुवानीमा प्रयोग हुदैँ आएको एक हजार ट्रक घर तथा ग्यारेजमा थन्काएका छन् ।

सरकारकै कारण आफुहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको भन्दै उनीहरुले यस्तो कदम चाल्न बाध्य भएको बताए । सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवासायी पलायन हुने अवस्था आएको नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताए ।

‘सरकार व्यवसायीमाथि निर्दयी भएकाले हामी आफ्ना ढुवानीका साधान थन्क्याउनु पर्ने अवस्थामा पुग्यौं,’ उनले भने ‘हाम्रो जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु र ओकाल्नु जस्तै भएको छ ।’ राज्यको कर प्रणाली चुस्त दुरुस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अर्वौ लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेका मल्लको गुनासोछ ।

इन्धन र गाडीका पाठपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर ओलीले आक्रोस पोखे । उनले भने, ‘ढुवानी भाडा बढाउनु त परैको कुरा, सरकारले तोकेको ढुवानी भाडा समेत हामीले पाउन सकेनौं यो जस्तो दुःखद् र बिडम्वना अरु के हुन सक्छ ?’

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन । कम मूल्यमा आफुहरुले ढुवानी गरेपनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामाग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको व्यवसायीहरुको गुनासोछ ।

नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको भेरी ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले बताए । ‘घरखेत राखेर व्यवसाय गर्यौं,’ उनले भने ‘सरकारको गैरजिम्मेवारका कारण आज घरपरिवार चलान नसक्ने अवस्थामा पुग्यौं ।’

ट्रक व्यवसायीले चुंगी कर, सडक कर र गद्दी खर्च यावत हिसाबले पीडित हुनु परेको दुखेसो सुनाए । उनीहरुले आयकर र अग्रिम करलाई व्यवहारिक बनाउन माग गरेका छन् ।

सरकार आफैले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन नभएसम्म आफुहरु ढुवानीका साधन चलाउन नसक्ने उनीहरुले बताएकाछन् । बाँकेका पाँच वटा प्रालिले कार्यगत एकता गर्दै आज(असार २ गते) देखि ढुवानीका साधन थन्क्याउने निस्कर्षमा पुगेको अध्यक्ष मल्लले बताए ।

भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी अञ्चल ट्रक समिति, नेपालगन्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्द कौशल ट्रक प्रालिले कार्यगत एकता गरेर सरकार विरुद्ध ढुवानीका साधान घरमै थन्क्याउने भएका हुन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी रहेको बताइएको छ ।