पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : मूल्य बढाए पेट्रोल २०९ र ग्यास २५५१ हुने


पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : मूल्य बढाए पेट्रोल २०९ र ग्यास २५५१ हुने

नेपालगन्ज २ असार : नेपाल आयल निगमले डिजल र पेट्रोलमा उच्च बृद्धि सहित भारतबाट इन्धनको नयाँ मूल्यसूची प्राप्त भएको बताएको छ ।

इन्डियन आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार मूल्य बढेर आएको हो । यद्यपि आयल निगमले नेपालमा लागु हुने गरी इन्धनको भाउ भने बढाएको छैन ।

भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले बढेको छ । नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य बढेमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रतिलिटर आसपास पुग्नेछ । यति गरेमा मात्रै निगमको घाटा रोकिनेछ ।

निगमलाई बिहीबारदेखि पेट्रोलको खरिद मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ लाग्ने भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ तोकिएको छ । यस्तोमा निगमले पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा भोगिरहेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर भारतबाट १९ रुपैयाँ ३ पैसा बढेर आएको छ ।
इन्डियन आयलको नयाँ सूचीअनुसार बिहीबारदेखि डिजेलको खरिद मूल्य २ सय नाघेर २ सय २ पुगेको छ ।

अहिले नेपालमा निगमले डिजेल प्रतिलिटर १६५ रुपैयाँमा बेचिरहेको छ । निगमले डिजेलमा मात्रै प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा भोगेको छ । भने मट्टीतेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुगेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले रुस–युक्रेन युद्ध जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यमा बढोत्तरी भएको जनाएको छ । त्यही बमोजिम इण्डियन आयल कर्पोरेसनले फेरि बढेको मूल्यसूची निगमलाई पठाएको हो ।

यस्तै भारतबाट बढेको सूची आएपछि अब निगममाथि अझै मूल्य बढाउन दबाब परेको छ । सरकारले १० रुपैयाँ कर घटाए पनि पेट्रोलियमको मूल्य लगत्तै त्यति नै दरमा बढाइसकेको छ ।

इन्डियन आयलको नयाँ मूल्य सूची अनुसार खाना पकाउने ग्यासको खरिद मूल्य उत्ति नै छ । तर, प्रतिसिलिन्डर १८ सय बिक्री रहेको एलपी ग्यासमा निगमले ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा भोगिरहेको छ ।
नयाँ मूल्यसूचीअनुसार खाना पकाउने ग्यासको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुग्नेछ ।

निगमले बिहीबारदेखि आएको नयाँ मूल्यसूची बमोजिम अबका १५ दिनमा ४ अर्ब ८१ करोड घाटा हुनेछ ।

उता निगमको मासिक घाटा नै बढेर ९ अर्ब ६३ करोड पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् । निगमका प्रवक्ता उपाध्यायका अनुसार यो हालसम्मै उच्च मूल्य भएकोे भनाइ छ ।