नेपालगन्जमा हुने आर्थिक क्रियाकलाप अनिवार्य उपमहानगरपालिकामा अभिलेखीकरण गर्नुपर्ने : मेयर विष्ट
नेपालगन्ज ५ असार : नेपालगन्ज उपमहानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणमा जुटेकोछ ।
यसका लागि आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ ।
सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैँभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय आवश्यकताका आधारमा योजना बनाएर आर्थिक गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
अबदेखि नेपालगन्जमा रणनीतिक र योजनाबद्ध हिसाबले काम अघि बढाइनेछ, नगर प्रमुख विष्टले अगाडी थपे,–‘नेपालगन्ज आर्थिक नगरी भएका कारण यसले आर्थिक पाटोलाई मुख्य प्राथमिकता दिने गरेको छ ।’
नगर प्रमुख विष्टले नेपालगन्जमा हुने आर्थिक गतिविधिले समग्र प्रदेशलाई लाभ पुग्ने भन्दै यहाँ हुने आर्थिक क्रियाकलाप अनिवार्य उपमहानगरपालिकामा अभिलेखीकरण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु आफैमा महत्वपूर्ण उपलब्धी भएको तर्क राखे ।
कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक एवम वडा नम्बर–४ का वडा अध्यक्ष गोपाल पुनले आर्थिक क्षेत्र विकासको मेरुदण भएको भन्दै अहिले बनाइने योजना सहज कार्यान्वयन हुने खालका हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धि प्रारम्भिक मस्यौदामा अन्तरक्रियात्मक छलफल भएको थियो ।