किसानलाई मलखाद उपलब्ध गराउन माग


किसानलाई मलखाद उपलब्ध गराउन माग

नेपालगन्ज ६ असार : नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा बीउ, मलखाद उपलब्ध नगराउँदा हरेक वर्ष किसानहरु समस्या झेल्दै आएका छन् ।

अहिले आकासे पानी नपर्दा किसानहरु समस्यामा परेका हुन् । पानी नपर्दा किसानहरुले धानको ब्याड समेत राख्न पाएका छैनन् भने रोपाई सुरु हुने बेला किसानले मल नपाएर समस्यामा परेका हुन् ।

किसानलाई धान खेतीका बेला मल उपलब्ध नभएपछि खेती किसानीको कार्य प्रभावित भएको छ ।

यसै सन्दर्भमा बाँकेका नागरिक समाजका तर्फबाट आज सोमबार बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेमा रहेको कृषि तथा बीउबिजन सामाग्री केन्द्रमा मौजदात रहेको मल सहज रुपमा किसानसमक्ष पुर्याउने वातावरण मिलाउनका लागि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले ज्ञापन पत्र बुझाएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालको संविधानको धारा (३६) मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । किसानका लागि तत्काल सस्तो, सहज रूपमा धानको बीउ, मल उपलब्ध गराउने व्यवस्थाका लागि सरकारसंग माग गर्दै किसानको धानबालीमा भएको क्षति स्वरूप गर्नुपर्ने रकम समेत किसानलाई उपलब्ध गराउनुपर्ने माग गर्दै बाँके जिल्लाका किसानहरुलाई तत्काल मल खादको व्यवस्था मिलाउन सरकारसंग विशेष माग गरेको विज्ञप्तीमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट्ट, नागरिक अभियन्ता रविन्द्र कुमार ज्ञवाली लगायतले हस्ताक्षर गरेका थिए ।