जानकीको नीति तथा कार्यक्रम : सुशासन प्रर्बद्धनमा जोड


जानकीको नीति तथा कार्यक्रम : सुशासन प्रर्बद्धनमा जोड

जानकी(बाँके) : बाँकेको जानकी गाउँपालिकाले सुशासन प्रर्बद्धन तथा भ्रष्टाचार नियन्त्रण गर्ने नीति अगाडी सारेको छ ।

गाउँपालिकाको ११ औं गाउँ सभामा बिहीबार गाउँपालिका अध्यक्ष छब्बन खाँले ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको प्रर्वद्धन गरिने बताए ।

यस्तै आगामी साउन १ गतेदेखी गाउँपालिकाभित्र कसैको घरमा छोरी जन्मिन्छ भने उसको खातामा गाउँपालिकाले ५ हजार रुपैयाँ जम्मा गरिदिने अध्यक्ष खाँले सुनाए । यसैगरी करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको पनि उनले बताए ।

गाउँपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशु, सहकारी एवं वित्तीय व्यवस्थापन र उद्योग, सामाजिक विकासतर्फ स्वास्थ्य तथा सरसफाई, शिक्षा युवा तथा खेलकुद, जेष्ठ नागरिक महिला बालबालिका तथा अपांग, सँस्कृति तथा पर्यटनलाई समेटिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै पुर्वाधार विकासतर्फ पुर्वाधार विकास, भुमि तथा भवन ब्यवस्थापन, वातावरण तथा विपत व्यवस्थापनतर्फ वन वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ सुशासन तथा सेवा प्रवाह, राजश्व प्रशासन र न्याय प्रणाली सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ ।

सभामा वडा नम्बर ५ का वडाअध्यक्ष एवम् सभाका सदस्य टिकानाथ यादवले स्वागत गरेका थिए । यस्तै उक्त सभामा विषयगत रुपमा सभाका सदस्यहरु जगदिश प्रसाद हरिजन, टिकानाथ यादव, राजेन्द्र सिंह लगायतले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष खाँको सभाध्यक्षतामा आयोजित सभामा उपाध्यक्ष रामप्यारी यादव, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरुको उपस्थिती रहेको थियो । सभा सञ्चालनको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गरेका थिए ।

उक्त सभामा पहिलो दिन नीति तथा कार्यक्रम प्रस्तुत गरिएको र दोस्रो दिन शुक्रबार(भोली) बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष यादवले बजेट प्रस्तुत गर्नेछिन् ।