गर्मी छल्न रंगशालाको पौडी पोखरीमा डुबल्की


गर्मी छल्न रंगशालाको पौडी पोखरीमा डुबल्की

नेपालगन्ज रङ्गशालामा रहेको पौडी पोखरीमा पौडी खेल्न आएका नेपालगन्जका स्थानीय युवा तथा बालबालिका। तस्विर सौजन्य : विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज १० असार : गर्मीले आहत भएका सर्वसाधारणलाई नेपालगन्ज रंगशालामा निर्माण भएको पौडी पोखरी (स्विमिङ पुल) ले केहि राहत दिएको छ ।

गर्मीले हैरान भएकाहरु दिनहुँजसो उक्त पौडी पोखरीमा डुबल्की मार्न आउन थालेकाछन् । नेपालगन्जको प्रचण्ड गर्मीबाट केही राहत दिने भएपछि यतिबेला सर्वसाधरणको भीड नै लाग्ने गरेकोछ ।

पौडीपोखरीमा पौडी खेल्दा शितल महशुस हुनुका साथै शारिरीक कसरत समेत हुने भएपछि यतिबेला सबै उमेर समुहका नेपालगन्जबासीहरु पौडी पोखरीमा आउन थालेका हुन् ।

नेपालगन्ज रंगशालास्थित पौडीपोखरीमा पौडी खेल्न दैनिक सरदर दुई सय सर्वसाधारण आउने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनले सर्वसाधारणका लागि विहान, दिउँसो र बेलुका गरि तीन सिफ्टमा स्विमिङ गर्ने ब्यवस्था मिलाइएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

गत चैतदेखि सञ्चालनमा आएको पौडीपोखरीमा दुई सय रुपैँयामा दुई घण्टा स्विमिङ गर्न सकिन्छ । ‘पौडी प्रशिक्षार्थी, स्कुले विद्यार्थी र अन्य सर्वसाधारणले दुई सय रुपैँयामा विभिन्न सिफ्टमा दुई घण्टासम्म स्विमिङ गर्न पाउने ब्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘अत्यधिक गर्मीका बेला नेपालगन्जबासीलाई स्विमिङ पुलले राहत दिएको छ । पछिल्लो समय पौडी पारखीहरुको आकर्षण बढेको छ ।’

तीन वर्ष अघि नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडी प्रतियोगिता सञ्चालन गर्न करिब २० करोड लागतमा निर्माण गरिएको स्विमिङ पुल कोरोना महामारीका कारण सञ्चालन हुन सकेको थिएन ।
पानी नतात्ने उच्च प्रविधियुक्त स्विमिङ पुल भए पनि समितिले न्यूनतम शुल्कमा सबै किसिमका व्यक्तिका लागि खुला गरेको कार्यालय प्रमुख चन्दले जानकारी दिए ।