जनजीविकाको आन्दोलनलाई निरन्तरता दिदैँ राप्रपाले लगायो कृषि ज्ञान केन्द्रमा ताला

असार १७ गते राँके जुलुस निकाल्ने


जनजीविकाको आन्दोलनलाई निरन्तरता दिदैँ राप्रपाले लगायो कृषि ज्ञान केन्द्रमा ताला

नेपालगन्ज १३ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जिल्ला कृषि ज्ञान केन्द्र बाँकेमा ताला लगाएको छ ।

जनजीविकाको आन्दोलनलाई निरन्तरता दिदैँ गत असार १ गतेदेखि आन्दोलित राप्रपाले देशभर एकैपटक विभिन्न २२ बुँदे माग रोखेर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रित भई आज बाँकेसहित ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गरेको हो ।

आन्दोलनको सोही कार्ययोजना अनुसार किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पु¥याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपा, बाँकेले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

राप्रपाका महामन्त्री डाक्टर धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा शाही, सलाउद्दिन जसगढ, मोहम्मद सफिक बेहना लगायतका नेता तथा कार्यकर्ताले केहीबेर नाराबाजी गर्दै कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेका हुन् ।

मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर एमाले, बाँकेले आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।

राप्रपाको आन्दोलन कार्यतालिका अनुसार प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखेर आगामी १७ असारमा ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको छ ।

यस्तै आगामी १९ असारमा पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने तयारी रहेको राप्रपाका महामन्त्री डाक्टर धवलशमशेर राणाले जानकारी दिए ।

उनले भने पार्टीको केन्द्रिय बैठकले गरेको निर्णय अनुसार असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै देशभरका जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने, २७ असारमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पठनपाठनको समय भइसक्दा पनि विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए ।

यसैगरी ३१ असारमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने राप्रपाले जनाएकोछ ।