विरोध गर्दै मनाइयो नवौँ मुक्त कमलरी दिवस


विरोध गर्दै मनाइयो नवौँ मुक्त कमलरी दिवस

नेपालगन्ज १४ असार : सरकारले २०७० साल असार १३ गतेका दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो । सोही दिनको अवसर पारेर मुक्त कमलरीले यस दिनलाई उत्सवका रुपमा मनाउँदै आएका थिए । तर, नवौँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाइएको छ । २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमलरी र सरकारबीच १० बुँदे सहमति भएको थियो ।

उक्त सहमति अझैसम्म पनि कार्यान्वयन नभएको भन्दै यसवर्ष मुक्त कमलरी विकास मञ्च दाङले दिवस विरोधात्मक रुपमा मनाएको हो । ट्राफिक चोकबाट सुरु भएको र्याली शहीदगेट हुँदै घोराहीबजार परिक्रमा गरेर घोराही चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीले छुट कमलरीको तथ्याङ्कमा समावेश गर्न, छात्रावासमा खानाको व्यवस्था गर्न, रोजगारीको सुनिश्चितता गर्न र सीपमूलक तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए । मुक्त कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले सरकारका कारण अहिले मुक्त कमलरीले दिवसलाई उत्सवका रुपमा मनाउन नसकेको बताइन् ।

उनले सरकारसँग भएको १० बुँदेमध्ये तीन बुँदा मात्र कार्यान्वयनको चरणमा रहेको अन्य सात बुँदाहरू अझैपनि कार्यान्वयका लागि सरकार मौन रहेको भन्दै यसलाई कार्यान्वयन गर्न माग गरिन् । उनले सरकारले स्नातक पढ्ने छात्राको छात्रवृत्ति कटौती गरेर पीडामाथि पीडा थप्ने काम गरेको गुनासो गरेकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मुक्त कमलरी विकास मञ्चका कानुनी सल्लाहकार फकला थारूले मुक्त कमलरीले परिचयपत्र नपाएका कारण पढाइबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताइन् ।

आन्दोलनबाट मात्र माग सम्बोधन हुने भएकाले अब आन्दोलनमा जाने बताइन् । हालसम्म चार हजार ९३४ जना मुक्त कमलरीले परिचयपत्र पाए पनि सात हजार ८३५ जना परिचयपत्र पाउनबाट वञ्चित हुँदा अनेकन समस्या भोग्न बाध्य भएको उनीहरुको भनाइ थियो ।

मुक्त कमलरी आशा चौधरीले आफूले पाउँदै आएको छात्रवृत्ति रकम नआउँदा पठनपाठनमा समस्या भएको बताइन् । पढाइ छाड्ने कि कहाँ जाने भन्ने समस्या भएको बताउँदै उच्च शिक्षाका लागि कसरी आर्थिक स्रोत जुटाउने भन्ने अन्योल रहेको उल्लेख गरिन् ।

देउखुरी बहुमुखी क्याम्पस लमहीमा उनले व्यवस्थापन विषय लिएर स्नातक तह अध्ययन गर्दै आइरहेका तर पैसाको अभाव हुँदा पढाइ छुट्ने हो कि भन्ने चिन्ता आशालाई लागेको हुँदा दिवसभन्दा बढी आफ्नो भविष्यको चिन्ता रहेको बताइन् ।

घोराही –२ रामपुरकी अङ्गीता चौधरीले हिजोको दासताबाट माथि उठेर अघि बढ्न सङ्घर्ष गरिरहे पनि राज्यले आफूहरूको घाँटी निमोठ्ने काम गरिरहेको आरोप लगाइन् । उनले उच्च शिक्षा अध्ययनका लागि राज्यले कि रोजगारी दिनुपर्ने कि छात्रवृत्ति दिनुपर्ने माग गरिन् ।

लावाजुनी छात्रावासमा बसेर बढ्दै गरेका १७ जनालाई विशेष गरी पढ्न समस्या भइरहेको छ । ३६ जना बस्दै आएको छात्रावासमा १९ जनाको छात्रवृत्तिबाट आफ्नो खर्च धान्न बाध्य भएका छन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा गरी २७७ जना मुक्त कमलरीलाई उच्च शिक्षामा समस्या भइरहेको छ । त्यसमध्ये अधिकांशका अभिभावक नहुँदा उनीहरू मानसिक रुपमा पनि प्रताडित भएका बताइएको छ ।

शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आत्मनिर्भरको बाटोमा अग्रसर गराउन सकेमा सीमित मुक्त कमलरीहरूले हरेक वर्ष उही माग पूरा गरिदेऊ भन्दै सङ्घर्ष गर्नुपर्ने बताइन् । मुक्त कमलरी विकास मञ्चका अनुसार १२ हजार ६६९ जना मुक्त कमलरी सदस्य सङ्ख्या रहेको छ । जसमा सबैभन्दा धेरै दाङका रहेका छन् । -रासस