नेपालगन्जको न्यूरोडमा भानुको अर्ध कदको शालिक अनावरण


नेपालगन्जको न्यूरोडमा भानुको अर्ध कदको शालिक अनावरण

नेपालगन्ज १८ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक शनिबार अनावरण गरिएको छ । स्थानीय भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच शालिक अनावरण गरे ।

लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बि टुका पुर्व गर्भनर सेम शाक्य, शालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख रुपैयाँको लागतमा उक्त शालिक निर्माण गरेको हो । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष दाहालले शनिबार नै एक कार्यक्रमका बीच पद हस्तान्तरण गरेका छन् ।

शालिक निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी समाजसेवी स्वर्गिय दामोदर आचार्यले ब्यक्तिगत रुपमा सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जी, नेपालगन्ज २ का तत्कालिन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायत दाताले पनि आर्थिक सहयोग गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

लुम्बिनी प्रदेशका मन्त्री हमालले उक्त चोकमा हाइमास्ट लाइट जडानका लागि आवश्यक बजेट विनियोजन गरिदिएको दाहालले सुनाए ।