गलेश्वर(म्याग्दी) १८ असार : बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने धवलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धवलागिरि क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक व्यवसाय बनेको छ ।
करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिङ्गापुर बसेर स्वदेश फर्किएका छन्त्यालले विगत पाँच वर्षदेखि आफ्ना बाबुबाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेका छन् ।
आफ्नै पिता पुर्खाका पैतालाको डोबलाई पछ्याउँदै अहिले छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धवलागिरि आधार शिविरको लेकमा पुगेका हुन् ।
छन्त्यालले जङ्गल, भिर, पहरो छिचोलेर धवलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) बाट १० दिनको कठोर यात्रा पछि शुक्रबार धवलागिरि आधार शिविरको खर्कमा आइपुगेको जानकारी दिए । ‘विभिन्न समस्याको सामना गर्दै धवलागिरि आधार शिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु,’ छन्त्यालले भने ।
छन्त्यालको पारिवारिक बसाइ पोखरामा छ । सिङ्गापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धवलागिरि क्षेत्रमा रहरलाग्दो भेडापालन गरेका छन् ।
भेडा बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन्त्याललाई पैसाको भन्दा पनि आफ्ना पिता पुर्खाको पेसालाई निरन्तरता दिने इच्छा छ । त्यसैले परिवारलाई पोखरामा राखेर आफूले पिता पुर्खाले गर्दै आएको भेडापालन व्यवसाय नै रोजेको छन्त्याल बताउँछन् ।
भेडाको बथान लिएर छन्त्याल धवलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरि हिमालको बेसक्याम्पतिर उक्लिएका हुन् । ‘यो मेरा पिता पुर्खाले भेडापालन गरेर आफ्ना सन्ततिको भविष्य उजिल्याएको ठाउँ हो, यो ठाउँमा मेरा बुबा, बाजे र अझै अघिल्ला पुस्ताको पैतालका डोब छन्, म मेरा पूर्वजका तिनै डोबलाई पछ्याउँदै उहाँहरुले नै गर्नुभएको व्यवसायलाई निरन्तरता दिनका लागि यो जोखिम उठाएको हुँ,’ छन्त्यालले भने । उनले जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताए ।
एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए ।
उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइरहेको छ ।
बिहान उठेर भेडाको गणना गर्दै उनको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउँछन् ।
छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेको बताए ।
भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठमार्फत भेडा चराउँदै आएको उनको भनाइ छ । उनले आफूबाहेक दुई हेरालोसमेत राखेका छन् ।-रासस
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी