आयोगको निष्कर्ष : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ३० कात्तिकमा


आयोगको निष्कर्ष : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ३० कात्तिकमा

नेपालगन्ज १९ असार : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगले जनाएकोछ ।

आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनेको आयोग श्रोतले बताएकोछ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाँउमा निर्वाचन विथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर, दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १२० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने बताए । उनका अनुसार, स्थानीय तहको निर्वाचनमा केही समय अभाव भएकाले दवाव परेको थियो । उनले भने, ‘अहिले त दुई तहको निर्वाचन गर्नुपर्ने भएकाले कम्तीमा चार महिना आवश्यक पर्ने देखिन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका बारेमा अनौपचारिक छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएका थिए ।

आयोगले दशैंविदा सकिए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मनोनयन प्रक्रिया सुरु गर्ने योजना बनाएको हो । आगामी १० देखि २३ असोजसम्म दशैंविदा पर्छ ।

दशै सकिए लगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी गरेको हो । त्यसो हुँदा उम्मेदवारले दशैंपछि तिहार सकिएपछि पनि प्रचार प्रसार गर्न पाउँछन् । आयोगले प्रस्ताव गरेको मिति तिहारको करिब २० दिनपछि पर्छ ।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको अपेक्षा गरेको छ । मिति घोषणा भएलगत्तै आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्नेछ । त्यसलगत्तै दलहरुलाई समानूपातिक उम्मेदवारहरुको सूचि पेश गर्न समय दिनेछ ।

निर्वाचन आयोगले केही दिनमै विद्युतीय मतदान यन्त्रका बारेमा पनि सरकारसँग थप छलफल गर्ने योजना बनाएको छ । तर, आयोगले मेसिनबारे साउन मसान्तभित्र सरकारलाई निर्णय दिन भनेको छ ।

निर्वाचन आयोगले अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गरिरहेको छ । अहिले देशभर दैनिक २५ हजारको हाराहारीमा नामावली संकलन भइरहेकाले असारभर करिव ७ लाखजति नयाँ मतदाता थपिने अनुमान गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचनको मिति घोषणा हुनासाथ मतदाता नामावली संकलन रोक्नुपर्छ ।

निर्वाचन आयोगले अहिले मतदानस्थल र मतदान केन्द्रको पनि पुनरावलोकन गर्ने योजना बनाएको छ । कतिपय ठाँउमा मतदाताहरु टाढा हिँड्नु परेको र कतिपय ठाउँका मतदातालाई अर्को अपायक ठाउँमा मतदान केन्द्र तोकिएकाले त्यसलाई मिलाउने काम भइरहेको हो । मतदान स्थल र केन्द्र पुनरावलोकनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्नुपर्छ ।