लुम्बिनी सरकारको ‘हरित सडक’ अभियान, कोहलपुरमा रोपिए ८ सय ५६ विरुवा

रोपिएका विरुवाको संरक्षण गर्नु सबैको दायित्व हो : मन्त्री हमाल


लुम्बिनी सरकारको ‘हरित सडक’ अभियान, कोहलपुरमा रोपिए ८ सय ५६ विरुवा

नेपालगन्ज २० कोहलपुर : ‘हरित सडक लुम्बिनी प्रदेशको पहिचान’ भन्ने मुख्य उद्देश्यसहित बाँकेको कोहलपुरमा बृहत बृक्षारोपण गरिएकोछ ।

अभियान अन्र्तगत कोहलपुर नगरपालिकामा ८ सय ५६ वटा छतिवन जातका विरुवा रोपिएकोछ ।

बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले बोटविरुवाको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् ।

मन्त्री हमालले सडकपेटी र ग्रीनबेल्टमा रोपिएका विरुवाहरुको संरक्षण गर्नु राज्यको मात्र नभई स्थानीयबासीको पनि दायित्व भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

लुम्बिनी प्रदेश सरकारले ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत् सडक किनार र डिभाइडरमा वृक्षारोपण गर्ने अभियान थालेको मन्त्री हमालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरलाई ‘हरित नगरी’को रुपमा विकास गर्ने योजना रहेको बताए ।

उनले बृक्षारोपण गर्ने तर, त्यसको संरक्षणमा पहल नगर्ने प्रवृत्तिलाई स्थानीय सरकारले निरुत्साहित गर्ने उल्लेख गर्दै रोपिएका विरुवाहरुको संरक्षणमा नगरबासीको ध्यानाकर्षण समेत गराए ।

डिजिजन वन कार्यालय नेपालगन्जका प्रमुख अजितकुमार कर्णले प्रदेश सरकारको लगानीमा कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत् पर्ने वडा नम्बर ८, ९ र १४ मा ८ सय ५६ वटा छतिवन जातका विरुवा रोपिएको जानकारी दिए । उनले ती विरुवाहरुको संरक्षणका लागि कार्यालयले तारवार गरेको पनि जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका महाशाखा प्रमुख नारायणदेव भट्टराई, बाँकेका एसपी श्यामकृष्ण अधिकारी, कोहलपुर नगरपालिकाका नगरउपप्रमुख संगीता सुवेदी, वडा नम्वर–८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नम्वर–९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर–१४ का वडा अध्यक्ष नमबहादुर आले, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले लगायतको सहभागिता रहेको थियो ।