राप्तीसोनारी (बाँके) २१ असार : राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।
११ औं गाउँसभाको तेस्रो बैठकबाट आज विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । सभा अध्यक्ष तप्त बहादुर पौडेलले दुबै विधेयक सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए ।
छलफलमा वडा नम्बर– ७ का वडा अध्यक्ष रामलखन थारु, वडा नम्बर –९ का वडा अध्यक्ष सोहनलाल थारु, वडा नम्बर– १ का वडा सदस्य भरत बुढाथोकी लगायतले भाग लिएका थिए ।
असार १० गते सुरु भएको गाउँसभामा अध्यक्ष पौडेलले १४ गते नीति कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त बैठकमा नीति कार्यक्रम पारित गर्दै आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिएको थियो ।
उपाध्यक्ष मनिषासिंह थारुले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । उनले ८८ करोड ३१ लाख ४८ हजारको बजेट गाउँसभामा पेश गरेकी थिइन् ।
असार १० गते एमालेका जनप्रतिनिधिहरुले गाउँसभा बहिष्कार गरेपछि गणपूरक संख्या नपुगेको कारण बैठक स्थगित भएको थियो । दोस्रो वैठक १४ गते बसेको थियो ।
यस्तै ११ औं गाउँसभाबाट न्यायिक समिति पनि गठन भएको छ । उपाध्यक्ष संयोजक रहने न्यायिक समितिमा दुई जना सदस्य गाउँसभाबाट चुनिएका हुन् । बहुमतका आधारमा न्यायिक समिति सदस्यमा शेरबहादुर विक र सुशिला विक चयन भएका छन् । वडा नम्बर– ९ का वडा अध्यक्ष थारुले शेरबहादुर र सुशिलाको नाम प्रस्ताव गरेका थिए ।
न्यायिक समिति सदस्यमा प्रस्तावित लक्ष्मी थारु र कमला विकको पक्षमा भने बहुमत जुट्न सकेन । उनीहरुको नाम बहुमतले अस्विकृत भयो ।